आइतबार, माघ ९ २०७८

गठबन्धनमा आबद्ध दल जनमोर्चाले गर्‍यो एमसीसीविरुद्ध आन्दोलनको घोषणा

गठबन्धनमा आबद्ध दल जनमोर्चाले गर्‍यो एमसीसीविरुद्ध आन्दोलनको घोषणा


Nepal Manch
मंसिर २० २०७८, सोमबार

काठमाडाैं । पाँच दलिय गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै आन्दोलनको घोषणा गरेको छ।

एमसीसीबारे निर्णय गर्न अमेरिकाले अल्टिमेटम दिएको समय मंसिर २८ गते संसदको अधिवेशन बोलाइएपछि सो सम्झौता सरकारले संसदमा पेस गरी अनुमोदन गर्न प्रयास गर्ने जनमोर्चाले आशंका गरेको छ।

सो सम्झौता देशहितमा नभएको भन्दै खारेजीका लागि राजमोले मंसिर २६ गतेसम्म सबै जिल्लाबाट दबाबमूलक कार्यक्रम गर्ने तथा २२ दलीय मोर्चाको तर्फबाट पनि विरोधका कार्यक्रम गर्न पहल गरिने जनाएको छ।

अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गरी एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउनुपर्ने समय सकिन लागेको अवस्थामा अमेरिकी उच्च अधिकारीहरू पटकपटक नेपाल आई एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन दबाब दिइरहेको बताएका छन्।

‘गठबन्धनको सरकारले आफ्नो नीति र कार्यक्रममा उक्त सम्झौतालाई अनुमोदन गर्ने कार्यसूची राखेको छैन’ अध्यक्ष केसीद्वारा प्रेशित वक्तव्यमा भनिएको छ, ‘एमसीसी सम्झौता राष्ट्रघाती छ। त्यसलाई खारेज गराउन र संसदबाट अनुमोदन गर्न नदिन देशव्यापी सङ्घर्षको आवश्यकता छ।’


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट