
काठमाडौं : पार्टीभित्रको विवाद समाधान गर्न नेकपा एमालेका शीर्ष नेताहरुबीचको वार्ता निष्कर्शविहीन भएको छ ।
आज अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो ।
तर दुबै पक्ष आआफ्नै अडानमा यथावत रहदा सहमति जुट्न नसकेको वार्तामा सहभागि एक नेताले बताए ।
नेपाल पक्षले फागुन २८ गतेको निर्णय फिर्ता लिनुपर्ने अडान राखेको छ भने ओली पक्षले चैत ४ र ५ गते बोलाइएको राष्ट्रिय भेला रोक्नुपर्ने माग गरेको छ ।
एमाले उपाध्यक्ष भीम रावलले गत २८ गतेको बालुवाटार बैठकबाट लिइएका निर्णय फिर्ता लिनुपर्ने अडान आफूहरुले प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नआएको बताए ।
‘हामीले सर्वोच्चको फैसलाअनुसार पार्टीलाई ३ वर्षअगाडिको अवस्थामा नै फर्काउनुपर्ने कुरा राख्यौं। यसका लागि २८ गतेको वैठकले गरेका निर्णय रद्द गर्नुपर्छ ।
तर, प्रधानमन्त्रीले भने अस्तिको बालुवाटार वैठकबाट भएका निर्णय फिर्ता लिने इच्छा देखाउनुभएन’, रावलले भने ।
आजको वार्तालाई आफूहरुले सकारात्मकरुपमै लिएको रावलले बताए ।
‘यति लामो मतभेद एकचोटि बस्दैमा मिल्दैन सक्दैन । तर, बैठकलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भने । रावलका अनुसार अर्को छलफलको मिति तय भएको छैन ।
प्रतिक्रिया