२१० स्थानीय तहको केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार भर्चुअल कार्यक्रममार्फत एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन् ।

सरकारले २१० स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माणका लागि चालु आर्थिक वर्षका लागि ५ अर्ब रूपैयाँ बजेट छुट्याइएको छ ।

प्रधानमन्त्री ओलीले भने, ‘संघ, प्रदेश वा स्थानीय तह अब पक्की र सुरक्षित सडक निर्माण कार्य शुरू भएको छ । अब बन्ने सडक दुर्घटना नहुने गरी निर्माण सुरक्षित सडकको रूपमा बनाउन आवश्यक छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माण र मर्मतको प्रस्ताव पेश गर्न भनेको थियो ।

त्यसमध्ये ३९२ वटा स्थानीय तहले सडक निर्माण र मर्मतको प्रस्ताव पेश गरेका थिए ।

कतिपयले दोहोरिने गरी कार्यक्रम पेश भएकाले २१० सडक छनोट भएको मन्त्रालयले जनाएको छ।

आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषद्‍बाट स्वीकृत गरिएको कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन् ।

१० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाई भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन् ।

२० किलोमिटरभन्दा लामो सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन् ।

प्रतिक्रिया

TOP