आइतबार, माघ ९ २०७८

गृहजिल्लामै रामचन्द्र पौडेलका उम्मेदवार पराजित, आले सभापतिमा विजयी

गृहजिल्लामै रामचन्द्र पौडेलका उम्मेदवार पराजित, आले सभापतिमा विजयी


Nepal Manch
मंसिर १२ २०७८, आइतबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रामचन्द्र पौडेललाई गृहजिल्लामै धक्का लागेको छ ।

आइतबार सम्पन्न कांग्रे तनहुँको जिल्ला अविधेशनमा पौडेलका उम्मेदवार पराजित भएका छन् । सभापतिमा कार्यवाहक सभापति रहेका जीतप्रकाश आले विजयी भएका छन् ।

उनले पौडेलका विश्वासपात्र एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई पराजित गरेका हुन् । न्यौपाने कांग्रेस तनहुँका बहालवाला सभापति पनि थिए ।

सभापतिमा विजयी भएका आलेले ९५१ मत पाएका छन् भने पराजित भएका न्यौपानेले ७८३ मत पाएका हुन् । जिल्ला निर्वाचन समितिका अनुसार अधिवेशनमा १७८५ मत खसेको थियो ।

सभापतिमा विजयी आले पनि पौडेल समूहकै नेता थिए । तर पौडेलले बहालवाला पार्टी सभापतिलाई नै दोहो¥याउन खोजेपछि आले संस्थापन समूहमा पुगेका हुन् । उनलाई सभापतिमा जिताउन तनहुँका संस्थापन समूहका नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्लेले महत्वपूर्ण भूमिका खेलेको तनहुँका नेताहरु बताउँछन् ।

तनहुँ कांग्रेसको अधिवेशनबाट सभापतिमा निर्वाचित आलेको प्यानल विजयी भएको छ । उपसभापति, सचिव र सहसचिवमा आले समूहकै उम्मेदवार विजयी भएका हुन् । दुई सहसचिवमध्ये विजयी एक उम्मेदवार पौडेल समूहका हुन् ।

उपसभापतिमा राजेन्द्र कुमार श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् । त्यस्तै सचिव पदमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुई सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई निर्वाचित भएका छन् ।

सहसचिव आले पौडेल समूहका हुन् । कोषाध्यक्ष पदमा भने निर्वाचन नहुने कांग्रेस विधानको व्यवस्था छ । विधान अनुसार कोषाध्यक्षमा सभापतिले मनोनित गर्नेछन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट