शनिबार पेरिसडाँडा गएकोबारे भीम रावलले खोले रहस्य

शनिबार विहान नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहँदा एमालेका उपाध्यक्ष भीम रावल पेरिसडाँडा पुगे ।

उनी किन पेरिसडाँडा पुगे ? भन्ने चासो धेरैले राखे ।

जसपा र माओवादी केन्द्रका नेताहरुबीच छलफल सकिएपछि सञ्चारकर्मीले रावल पेरिसडाँडा पुगेकोबारे प्रश्न गर्दा नारायणकाजी श्रेष्ठले रावल व्यक्तिगत कामले आएको बताए ।

‘कुनै राजनीति कुरा भएको छैन कुनै व्यक्तिगत कामले आए होलान्’ श्रेष्ठले जवाफ दिए ।

एमाले नेता रावलले भने आफू पेरिसडाँडा गएको र त्यहाँ भएको कुराकानीबारे केही नबोल्ने बताए ।

शनिबार दिउँसो शंखमुलमा बसेको नेपाल पक्षको केन्द्रीय सदस्य तथा सांसदहरुको भेलापछि प्रतिक्रिया दिने क्रममा रावलले आफू पेरिसडाँडा गएको स्वीकार गरे ।

‘म किन पेरिसडाँडा नजाने ?’ रावलले भने, ‘नेपालको एक सशक्त माओवादी केन्द्रसँग वार्ता गर्न जान्छु नि ।’

ओलीले चाँहि विभिन्न समूहलाई बालुवाटार डाकेर छलफल गर्न हुने आफूहरुले चाँहि कसैसँग वार्ता गर्दा किन गयो ? भनेर प्रश्न गर्नु हाँसो उठ्दो कुरा भएको रावलले टिप्पणी गरे ।

कुन सन्दर्भका लागि गएको भन्ने प्रश्नमा रावलले राजनीतिक सन्दर्भका लागि गएको र त्यहाँ भएको कुराकानी समय आएपछि मात्रै बाहिर ल्याउने बताए ।

‘सन्दर्भ त राजनीतिक सन्दर्भ हुन्छ नी अहिलेको अवस्थामा’ रावलले जवाफ दिए, अहिले अड्कलबाजी गर्दै गर्नुहोस् । समय आएपछि भन्नु म त्यहाँ के कुरा भयो भनेर।’

प्रतिक्रिया

TOP