
काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारविहीन बनाउने गरी कदम चालेपछि सशंकित बनेको बरिष्ठ नेता माधवकुमार नेपाल समुहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
शनिबार आफूनिकट केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेको नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।
बैठकले अध्यक्ष ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य गर्ने निर्णय पनि गरेको छ ।
राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेपाल समूहले जनाएको छ ।
त्यस्तै नेपाल समूहले पार्टीको प्रदेश इन्चार्ज र विभागमा जिम्मेवारीसमेत तोकिएको छ।
बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ ।
प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल बनेका छन् भने बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य छन् । शाक्यलाई महिला विभागकोसमेत जिम्मेवारी दिइएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ ।
सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने भीम रावलले पाएका छन्।
बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्ज र प्रचार प्रसार विभागको जिम्मेवारी योगेश भट्टराईलाई दिएको छ।
ओली समूहको शुक्रबार बसेको बैठकले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्नुका साथै पदाधिकारी पनि खारेज गरेका थिए ।
प्रतिक्रिया