माओवादी केन्द्र र जसपाबीच नयाँ सरकार गठनबारे छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबीच वार्ता सकिएको छ ।

दुई दलका शीर्ष नेताबीच सरकार गठन र जसपाले उठाएका मुद्धाको सम्बोधन गर्नेबारे छलफल भएपनि कुनै ठोस टुंगोमा भने पुग्न नसकेको नेताहरुले बताएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले सबै विषयमा छलफल भएपनि कुनै निष्कर्शमा नपुगेको बताए ।

उनले भने, ‘हामीले आफ्ना कुरा राख्यौं तर कुनै सहमति भएको छैन ।’ साथै उनले छलफललाई फेरी निरन्तरता दिने समझदारी भएको बताए ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकार गठनका विषयमा छलफल भएको बताए ।

‘हामीबीच नयाँ सरकार गठनका बारेमा मिहिन ढंगले कुराकानी भयो,’ उनले भने, ‘अब एकपटक कांग्रेससँग पनि छलफल गर्ने र निष्कर्शमा पुग्ने समझदारी भएको छ ।’

जसपाका नेताहरुले हिजो कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

कांग्रेससँगको छलफलमा नेकपा एमाले इतरका दलहरु मिलेर सरकार गठन गर्ने विषयमा कुराकानी भएको थियो ।

सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिन्छ ।

सरकारले जसपासँग गठबन्धन गर्न तयारी तीब्र बनाएसँगै एमााले इतरका दलहरुले पनि जसपालाई फकाउन सुरु गरेका छन् ।

प्रतिक्रिया

TOP