बुधबार, मंसिर २२ २०७८
चुनाव–चर्चा

प्रतिस्पर्धाविहीन बन्दै दलको अधिवेशन : कम्युनिष्टभित्र टिके प्रथा कायमै

प्रतिस्पर्धाविहीन बन्दै दलको अधिवेशन : कम्युनिष्टभित्र टिके प्रथा कायमै


शाश्वत रिमाल
मंसिर ९ २०७८, बिहिबार

काठमाडाैं : निर्वाचन आयोगको हदबन्दीका कारण अहिले देशको पहिलो ठूलो पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका पार्टी महाधिवेशन गर्ने तयारीमा छन् । महाधिवेशन नगर्दा आयोगले दल दर्ता नै खारेजसम्म गर्न सक्ने ऐनका कारण अहिले नेपाली कांग्रेस र नेकपा एमालेको आन्तरिक निर्वाचनको संघारमा छ ।

तर ठूला भनिएका पार्टी नै प्रतिस्पर्धाविहीन बनेको देखिन्छ । पहिला नेपाली कांग्रेसमा निकै कममात्र आन्तरिक प्रतिस्पर्धा हुन्थ्यो भनेर कम्युनिष्टहरूले आरोप लगाउने गर्थे । अहिले यसको ठीक विपरित दृश्य देखिन्छ ।

नेपाली कांग्रेसले वडा तहदेखि नै भोटबाट नै निर्वाचन गरेको छ भने केन्द्रमा पनि केन्द्रीय सदस्यदेखि शभापति, महामन्त्री पदमा निकै ठूलो प्रतिस्पर्धा सृजना भएको पाइन्छ । शभापतिमात्र कोइराला खेमा, प्रमाशमान सिंह र रामचन्द्र पौडेलले खुलेआम चुनौति खडा गरिसकेका छन् ।

यता बहुमतलाइै नै सर्वोच्च कदर गर्ने साम्यवादी धारका नेपाली कम्युनिष्ट पार्टीभित्र भने महाधिवेसन मुखमै आउँदासमेत प्रतिस्पर्धा अत्यन्त न्यून देखिन्छ ।नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीबाहेक विकल्प छैन भनेर शीर्ष नेताहरू भन्दै आएका छन् । कतिसम्म भने केपी ओलीको धुरन्धुर विरोधी भनेर चिनिएका घनश्याम भुषाल, भीम रावलसम्मको टिमले कुन पदमा उमेद्वारी दिने तय गरेको छैन ।

रावले भने गत मंसिर ५ गते रिपोर्टस क्लबमा पत्रकार सम्मलेन गरेर अध्यक्षमा लड्ने घोषणा गरेपनि कुन पदमा को नेता उठ्ने भन्ने तय भएको छैन र कतिसम्म भने रावलले ‘पब्लिक स्टन्ट’का लागिमात्र अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका हुन् भनेर उनकै निकट मानिने नेताहरूले भनिसकेका छन् । यस्तै पछिल्ला अन्तर्वार्ताका क्रममा सुवासचन्द्र नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताले बरू तलकै पदमा बस्न तयार रहेको तर केपी ओलीको टिम नफुटाउने अभिव्यक्ति दिएका छन् ।

एमालेका नेताहरूको पछिल्ला अभिव्यक्ति केलाउने हो भने उनीहरू बरू केन्द्रीय सदस्य वा मनोनित शीर्ष नेतामा चित्त बुझाउन तयार छन् तर अध्यक्ष र महासचिव पदमा केपी ओलीसँग जुध्न कुनै हालतमा चाहँदैनन् । यता ‘चुनावले पार्टीमा विभाजन ल्याउन सक्छ बरु सहमति खोजौ’ भनेर एमाले नेता रघुजी पन्तले भनेसँगै एमाले साँच्चै लोकतान्त्रि परिपाटीभन्दा व्यक्तिवादमा सीमित भएको प्रमाणित हुन्छ ।

शंकर पोखरेल, प्रदीप ज्ञवालीहरू, विष्णु रिमाल, राजन भट्टराई र महेश बस्नेतहरू एमाले एकछत्र आफ्नो पक्षमा आएको खुसीमा रमाइरहेका छन् । उनीहरूको लागि लोकतन्त्र, समाजवाद र न्याय भनेकै केपी ओली नै हो ।

यता नेकपा माओवादीभित्र पनि जहिले एकै व्यक्ति अध्यक्ष हुने सिलसिला चलिरहेको देखिन्छ । २०५६ सालदेखि पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष रहेको माओवादी पनि व्यक्तिवादमा रुमल्लिरहेको छ । शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ तथा लामो समय माओवादी उपाध्यक्ष रहेका बाबुराम भट्टराईले पनि अध्यक्ष दाहालविरुद्ध उठ्ने हिम्मत गरेनन् । बाबुरामले दुईपटक माओवादी परित्याग गरे तर आफैंले बनाएको पार्टीमा रहँदा त्यसभित्र लोकतान्त्रिक अभ्यास सुरु गर्न सकेनन् ।

कतिसम्म भने माओवादी निकट अनेरास्ववियू, वाइसियल वा प्रेस सेन्टर नेपालको अध्यक्ष पद कसलाइए दिने भन्नेसम्मको जिम्मा अध्यक्ष दाहाललाई नै दिइन्छ । दाहालको निवासमा गएर को अध्यक्ष बन्ने र को महासचिवमै थन्किने भन्ने निर्णय भएको पाइन्छ ।

प्राध्यापक डम्बर चेम्जोङ दलहरूले लोकतान्त्रिक प्रणाली अवलम्बन नगरिँदा देशकै लोकतन्त्र धरापमा पर्ने बताउँछन् । चेम्जोङका अनुसार प्रतिस्पर्धाविहीन नेतृत्व जुनसुकै पार्टीमा हाबी भएपनि त्यसले समग्र देशको राजनीतिलाई प्रभाव पार्छ ।

यता कांग्रेस नेता मनमोहन भट्टराई पनि अहिले राजनीतिक दलहरू आफैंभित्र लोकतान्त्रिक छन् कि छैनन् भनेर खोज्नुपर्ने अवस्था आएको बताउँछन् । ‘दलभित्रै लोकतन्त्र छैन भने सिंगो मुलुकलाई लोकतन्त्र प्रत्याभूत गर्ने जिम्मेवारी दललाई दिन सकिँदैन’ उनी भन्छन्, ‘यथार्थमा हेर्दा नेपालका दलहरू ठीक अर्थमा लोकतान्त्रिक भएजस्तो देखिँदैन । उनीहरूको बाटो संर्कीण छ ।’

 


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट