माधव नेपाल पक्षलाई खवरै नगरी बालुवाटारमा एमाले बैठक

काठमाडौं : सर्वाेच्च अदालतको फैसलापछि ब्यूँतिएको नेकप एमालेमा अन्तरविरोध चर्किएको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षलाई जानकारी नै नदिई केन्द्रीय समितिको बैठक बोलाएर महत्वपूर्ण निर्णय गराएका छन् ।

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओलीपक्षीय केन्द्रीय समिति बैठकले नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै पदाधिकारी खारेज गरिदिएको छ ।

अब एमालेमा अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी रहने छैनन् ।

त्यस्तै बैठकले प्रदेश इञ्चार्जबाट नेपाल पक्षीय नेताहरुलाई हटाएर आफूनिकट नेतालाई जिम्मेवारी दिएका छन् ।

बरिष्ठ नेता नेपाललाई विदेश विभाग प्रमुखबाट हटाइएको छ । उनको ठाउँमा राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।

कर्णाली प्रदेश इन्चार्ज रहेको युवराज ज्ञवाली जिम्मेवारीबाट हटाइएको छ । उनको ठाउँमा यमलाल कँडेललाई नियुक्त गरिएको छ ।

बागमती प्रदेश इन्चार्चमा ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ ।

एमालेको बागमति प्रदेश इन्चार्जमा अष्टलक्ष्मी शाक्य थिइन् ।

त्यस्तै प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको ओलीनिकट एक नेताले बताए ।

पार्टीका प्रवक्तामा ओलीले प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएका छन् ।

माओवादी केन्द्रमा नफर्किएर ओलीसँगै रहेका २३ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

TOP