ओलीको अधिनायकवादी सत्ता लामो समय टिक्दैन : खाँण

बुटवल : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी सत्ता लामो समय नजाने दावी गरेका छन् ।

उनले प्रधानमन्त्री ओली आफै सकिने बेला पनि आइसकेको दावी गरे ।

शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै खाँणले ओलीको असंवैधानिक यात्रामा चाँडै पूर्णविराम लाग्ने बताएका हुन् ।

‘बादलभित्र पनि चाँदीको घेरा हुन्छ र छिट्टै राजनीतिले सही बाटो लिन्छ,’ उनले भने, ‘सविधान भंग हुने छैन। अझै परिष्कृत गरेर पछाडि परेका समुदाय र वर्गको हितमा बन्छ । संविधान च्यात्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सकिने बेला आएको छ ।’

उनले संवैधानिक आयोगमा अध्यादेशमार्फत गरिएको नियुक्तिले ओली सरकार संविधानप्रति असहिष्णु रहेको पुष्टि भएको नेता खाँणको तर्क थियो ।

‘प्रधानमन्त्रीज्यू अहिलेको संविधानमाथि यो वा त्यो बहानामा प्रहार गरिरहेका छन्,’ उनले भने, ‘अहिले मुलुकमा दुईधारको आन्दोलन जारी रहेको छ। संविधान भङ्ग गर्ने र रक्षा गर्नेको आन्दोलन हो यो ।’

उनले प्रधानमन्त्री ओलीलाई संविधान भंग गर्नेको संज्ञा दिए ।

प्रतिक्रिया

TOP