कांग्रेस पदाधिकारी बैठक दिउँसो तीन बजे, चार बजे जसपाका शीर्ष नेतासँग छलफल

काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज अपराह्न तीन बजे पदाधिकारी बैठक बोलाएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए ओली सरकार अल्पमतमा पर्नेछ । ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिन सक्ने आकलन गर्दै ओलीले सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीसँगको छलफललाई व्यापक बनाएका छन् ।

जसपाले सरकारलाई समर्थन गरे प्रधानमन्त्री ओलीको सत्ता टिक्नेछ ।

तर माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाबीच सत्ता समिकरण बने ओली सरकार ढल्नेछ ।

जसपाले आफूहरुले उठाएका मुद्धा सम्बोधन गर्नेलाई समर्थन गर्ने बताउँदै आएको छ ।

यसका लागि जसपाले कांग्रेस, माओवादी केन्द्र र एमालेसँग छलफल गर्ने निर्णय गरेको थियो ।

कांग्रेस सत्ता समिकरणका विषयमा प्रष्ट नभएपनि माओवादी केन्द्र र जसपाको समर्थन कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने अनुमान पनि भइरहेका छन् ।

यसैबीच भावी सत्ता समिकरण र जसपाले उठाएका मुद्धा सम्बोधन गर्ने बारे सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

अपराह्न तीन बजे पदाधिकारी बैठकपछि चार बजे जसपाका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

TOP