
सत्ता सहकार्यबारे छलफल गर्न आज पनि नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच छलफल हुँदैछ ।
बिहीबार दुई दलका शीर्ष नेताबीच भएको छलफल सकारात्मक बनेपछि कार्यदलको बैटकबाट टुंगोमा पुग्ने सहमति भएको थियो ।
आज अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुबै दलद्वारा गठित कार्यदलको बैठक बसेर सहमति खोजिने जसपाका नेता लक्ष्मण लाल कर्णले जानकारी दिए ।
जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ ।
सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई कार्यदलमा छन् ।
जसपाले सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा घाइते तथा अपांगलाई उचित राहतको व्यवस्था र संविधान संशोधनको मुद्दा अगाडि सारेको छ ।
आफ्ना माग जुन दलले सम्बोधन गर्छ, उसैलाई सरकार निर्माणमा समर्थन गर्ने निर्णय जसपा संसदीय दलले गरिसकेको छ ।
सोही अनुसार जसपाले नेपाली कांग्रेस, माओावादी केन्द्र र नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।
जसपाले सुरुमा सरकारको नेतृत्व गरिरहेको एमालेसँग छलफल अगाडि बढाएको हो ।
बिहीबार बालुवाटारमा जसपाले प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरुसँग छलफल गरेको हो ।
विगतमा लिखित सहमति गर्दा पनि आफूहरुका मागको सम्बोधन नभएको उल्लेख गर्दै अब कार्यान्वयनमै जोड दिएको जसपाका नेता कर्णले जानकारी दिए ।
उनले मागको सम्बोधन भए मात्रै सत्ता सहकार्य गरेर अघि बढ्न सकिने आफूहरुले स्पष्ट कुरा राखेको बताए ।
प्रतिक्रिया