
काठमाडौं : नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले केपी शर्मा ओलीको सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् ।
उनले ओली नेतृत्वको सरकारबाट आफूले राजीनामा दिएको र अब बन्ने सरकारमा पनि सहभागि नहुने स्पष्ट पारे ।
हिमालय टेलिभिजनका लागि पत्रकार राजेन्द्र बानियाँसँगको अन्तर्वार्तामा उनले भने, ‘अब भोली एमाले र माओवादी केन्द्रबीच गठबन्धन बन्यो भने त्यतिबेला सोच्ने कुरा बेग्लै हो । मेरो भनाई नै यही हो कि एमाले र माओवादी केन्द्रबीच नै सरकार बन्यो भने सोच्न सक्ने कुरा हो ।’
सचिव भट्टराई ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि उनले राजीनामा दिएका थिए ।
संसद विघटन असंवैधानिक कदम भन्दै तत्कालीन नेकपामा प्रचण्ड नेपाल समूहका मन्त्रीहरुले सामूहीक राजीनामा दिएका थिए ।
सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि ओली सरकार संकटमा छ ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकार अल्पमतमा पर्ने निश्चित छ ।
प्रधानमन्त्री ओलीले सत्ता टिकाउन प्रतिपक्षी दल जनता समाजवादी पार्टीसँग छलफल सुरु गरेका छन्।
एमाले सचिव भट्टराई भने जनमत एमाले र माओवादी केन्द्रका पक्षमा आएकाले बामगठबन्धकै सरकार बन्नुपर्नेमा जोड दिदै आएका छन् ।
जसपासँग सत्ता सहकार्य गर्ने प्रधानमन्त्रीको तयारीबारे नेता भट्टराईले भने, ‘त्यसपछि अर्काे सरकार कस्तो बन्छ, जसले पहल गर्छ, उसैलाई थाहा होला ।’
जसपा, कांग्रेस र माओवादी केन्द्रबीच सरकार बन्ने अवस्थामा एमालेले ओलीको विकल्प खोजेर नयाँ व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया