
काठमाडौं : भारत सरकारको सहयोगमा काठमाडौंको बुढानिलकण्ठमा रहेको बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माण कार्य सुरु भएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले धर्मशाला पुनर्निर्माणको शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सहभागि थिए ।
कार्यक्रममा मन्दिरका मठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेक नारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष चक्र बन्धु अर्याल लगायत भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति थिए ।
गत नोभेम्बर २०१९ मा २ करोड २० लाख रुपैयाँको लागतमा बुढानिलकण्ठ मन्दिरका लागि मठाधीश भवनको निर्माण भएको थियो ।
धर्मशालाको पुनर्निर्माण भारत सरकारको पाँच अर्ब असी करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापना परियोजना मध्येको तेस्रो परियोजनाको रुपमा रहेको छ ।
सबै सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो ।
पुनर्निर्माणका लागि गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन गर्ने निकायको रुपमा रहेको छ । धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया