
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै क्रान्ति पूरा नभएको बताएका छन् ।
बिहीबार नयाँ नमुना स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उमेरले साथ दिउन्जेल लड्ने उद्घोष गरेका हुन् ।
‘म ४२/४३ वर्षको हुँदा जनयुद्धको सुरुवात गरेको थिएँ । अहिले ६६/६७ वर्षको भए । उमेरले कतिदिन साथ दिन्छ, त्यतिबेलासम्म लड्छु,’ उनले भने, ‘माओत्सेतुङले ७२ वर्षको उमेरमा क्रान्ति सम्पन्न गरेका थिए । म पनि छोड्नेवाला छैन ।’
उनले पार्टीभित्र उमेर पुगेका नेताहरुले सक्रिय राजनीतिबाट विदा लिनुपर्ने कुरा उठिरहेको प्रसंग उल्लेख गर्दै आफू भने तत्काल विश्राम लिने पक्षमा नरहेको स्पष्ट पारे ।
‘कतिपयले अब उमेर भएकाले छोड्नुप¥यो भन्छन् । म छोड्नेवाला छैन । अझै क्रान्तिको बाटोमा अगाडि जानेमा छु,’ प्रचण्डले थपे, ‘तपाईहरु यो कुरा चाँही विश्वस्त रहनुहोला । म छोड्नेवाला छैन । म लड्नेवाला छु ।’
उनले आफूले अहिले पनि युद्ध लडेको र त्यसमा सफलता पाएको बताए । साथै उनले अझै दुई/चार युद्ध लड्नै बाँकी रहेको र त्यसमा पनि जीत्नै पर्ने बताए ।
‘एक/दुईवटा ब्याटल त अहिले लडेँ । त्यसमा सफलता पनि पाए । अरु दुई चार वटा ब्याटल जित्न बाँकी छ । र हामीले जित्नैपर्छ,’ उनले भने ।
प्रतिक्रिया