बुधबार, मंसिर २२ २०७८

मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै सरकार विस्तार गर्ने तयारी

मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै सरकार विस्तार गर्ने तयारी


Nepal Manch
मंसिर १ २०७८, बुधबार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि अब सरकारलाई पूर्णता दिने बताएका छन् ।

बुधबार प्रदेशसभामा हाल कायम रहेका ९२ मध्ये ५० सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री राई अब गठबन्धनमा रहेका दलहरुसँगको छलफलपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा छन् ।

उनको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा बुधबार पक्षमा ५० र विपक्षमा २९ मत खसेको थियो ।

कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले सोही दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद समावेश गरेर पाँच सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

मुख्यमन्त्री राई अब मन्त्रालय संख्या थप्ने र मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । ‘मन्त्रालय बनाउनुपर्नेछ, ८–१० दिन त समय लिन्छ’ उनले मन्त्रिपरिषद विस्तारबारे भने । प्रदेशमा मन्त्रालयको सख्या बढीमा ११ र घटीमा ९ हुने उनले बताए ।

सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने सहमति जुटेको छ । ती दुईबाहेक भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमध्ये कुन फुटाउने भन्ने विवाद छ ।

मुख्यमन्त्री राई काम र दाहित्व बढी भएका मन्त्रालय विभाजन गर्नुपर्ने अवस्था आएको बताउँछन् । मन्त्रीका आकांक्षी बढी भएका कारण प्रदेशमा बन्ने सबै मन्त्रालयमा मन्त्री र केही राज्यमन्त्री नियुक्त गर्ने उनको तयारी छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट