बुधबार, मंसिर २२ २०७८

भ्रुण हत्या बढेपछि मधेसमा छाेरीकाे संख्यामा कमी

भ्रुण हत्या बढेपछि मधेसमा छाेरीकाे संख्यामा कमी


Nepal Manch
कार्तिक ३० २०७८, मंगलबार

सप्तरी : तराई मधेसमा छोरीको संख्या पहिलेको तुल्नामा न्यून हुदै गएको छ। तराई मधेसमा बसोबास गर्ने मधेसी बाहुन, यादव, देव, कायस्थ, राजपुत, साह, दासलगायत अधिकांश जातमा पाँच वर्ष अगाडिसम्म पनि दाइजो नलिएर छोरीको विवाह हुन मुस्किल थियाे ।

तर, पाँचकाे वर्षकाे बीचमै आश्चार्य लाग्ने गरी परिवर्तन आएकाे छ । राजविराज-६ की ६७ वर्षीय उर्मिला देवका अनुसार अहिले दाइजोविनै छोरीको विवाह गर्न सकिने अवस्था छ । बरू छोराको विवाह गर्न गाह्राे हुन थालेकाे देवको अनुभव छ।

राजविराज नगरपालिका-२ की ६५ वर्षीया अम्बिका देवका अनुसार पहिले पहिले शिक्षित, सक्षम, आत्मनिर्भर छोरी भए पनि केटी पक्षले नै गएर दाइजोसहित प्रस्ताव गर्नुपर्ने बाध्यता थियोे ।

तर, पनि प्रस्ताव स्वीकार गराउँन सजिलो थिएन् । किन भने केटीवालाको ओइराे लाग्थ्याे । दाइजोसहित केटी छानेर केटापक्षले विवाह गर्न पाउँथे। छोरीकावलाहरू सबैको मुखमा हुन्थ्यो, ‘मेरी छोरीको लागि एउटा केटा खोज्नु न !’ तर, अहिले त्यस्तो नरहेको राजविराज-५ की ४५ वर्षीया सुनिता देवले बताइन् । उनले भनिन्,´अहिले मेरी छोरीको लागि केटा खोजी दिनु न भन्ने पर्दैन । मेरो छोराको लागि संक्षम केटी खोजिदिनु, दाईजो नलिई विवाह गर्छु भन्ने दिनप्रतिदिन बढ्दै गएको छ ।’

राजविराज नगरपालिका-२ की कबिता झाले पनि दुई वर्षयता एक दर्जन भन्दा बढी छिमेकी, चिनजान भएका आफन्तलगायतले छाेराका लागि संक्षम केटी खोजिदिन आग्रह गरेकाे बताइन् ।

शिक्षित र संक्षम केटी पाएमा दाइजो नलिई विवाह गर्न शुरूमै प्रतिबद्ध रहेको झाको भनाइ छ। उनी थप्छन्, ´हिजोआज मेरो छोरीको लागि केटा खोजिदिनुस् कसैले भन्दैनन् । सबैले छोराको लागि केटी खोजिदिनु भन्छन्।`

राजविराज-७ की सुनिता साहकी एक छोरा र चार छोरी छन् । छोरो जेठो हो र उनी ईन्जिनियर हुन् । छोरी बिएस्सी नर्सिङ पढेकी छिन्। माईली छाेरी इन्जिनियरिङ अन्तिम वर्षमा छिन् । साइली आईएस्सी गर्दैछिन् । कान्छी भर्खरै स्कूल पढ्दैछिन् । एउटा छोराेपछि लगातार चार छोरी जन्मिदा उनीहरूकाे विवाह कसरी गर्ने कहाँबाट दाईजो ल्याउने ? भनेर उनी पहिला निकै चिन्तित हुन्थिन् । उनले भनिन,´अहिले ठीक उल्टो भएकाे छ । छोराको विवाह गर्नु पर्ने दाईजो नलिई विवाह गर्न तयार भए पनि बुहारी भेट्न गार्‍हो भएको छ।` बरू जेठी र माहिली छोरीसँग दाईजो नलिई विवाह गर्ने प्रस्तावहरू धमाधम आउन थालेको साहले बताइन ।

केही समयअघिसम्म मधेसी समुदायमा छोरीको विवाहलाई लिएर अभिभावकहरू निकै चिन्तित हुने गर्थे । विवाह गर्ने उमेर भएकी छोरीका अभिभावकको मुखैमा हुन्थ्यो, ‘मेरी छोरीको लागि एउटा केटा खोज्नु न ।’ तर, अहिले समय बदलिएको छ । अब छोरीका बाबुहरू केटा खोज्नु न भन्दैनन् । अचेल त छोराका बाबुहरू नै मेरो छोराका लागि कोही योग्य केटी भए भन्नुहोला है भन्छन् । उनीहरू दाइजो नलिइकनै विवाह गर्न समेत राजी हुन थालेका छन् ।

मधेसमा यस्तो अवस्था आउनुको प्रमुख कारण हो लिंग पहिचानपछि गरिने भ्रुण हत्या । ‘छोराले वंश धान्ने’ अन्धविश्वासले मधेसका केही समुदायमा गर्भमा छोरी भए हत्या समेत गर्ने चलन रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । जसका कारण ती समुदायमा अहिले छोरीको संख्या निरन्तर घटिरहेको छ । भ्रुण हत्या गर्नेमा धेरैजसो शिक्षित र सचेत परिवार नै हुने गरेको उनीहरू बताउँछन् ।

यस्ता परिवारमा पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तान छोरी स्वीकार्य हुन्छ । यस्तो अवस्थामा लिंग पहिचान पनि हुँदैन । तर, पहिलो सन्तान छोरी जन्मिएर दोस्रो सन्तान पनि छोरी हुँदैछ भन्ने थाहा भएपछि अधिकांशले भ्रुण हत्या गर्ने प्रवृत्ति रहेको स्रोतको भनाइ छ । तराई मधेसमा बसोबास गर्ने मधेसी बाहुन, यादव, देव, कायस्थ, राजपुत, साहलगायत जातमा पाँच वर्ष अगाडिको मात्रै कुरा गर्ने हो भने दाइजो नलिएर छोरीको विवाह हुन्छ भन्ने कल्पना समेत गर्न सकिदैन थियो । शिक्षित, सक्षम, आत्मनिर्भर छोरी भए पनि केटी पक्षले नै गएर दाइजोसहित प्रस्ताव गर्नुपर्ने बाध्यता थियो । तर, पनि प्रस्ताव स्वीकार गराउँन सजिलो थिएन । किनभने केटीवालाको ओइरो हुन्थ्यो । दाइजोसहित केटी छानेर केटापक्षले विवाह गर्न पाउँथे ।

छोरीको संख्या कम भएपछि छोरी महत्व बढ्नु स्वभाविक भएको अधिकारकर्मी रमिता साहले बताइन् । तर, अझै पनि मधेसमा छोरा र छोरीबीच धेरै नै भेदभाव छ । छोरालाई एकदमै महत्व दिँदै आएकोले भ्रुण हत्याको चुनौती दिनप्रतिदिन बढ्दै गएको साह बताउँछिन् । यसप्रति व्यक्ति, परिवार, समाज तथा हरेक पक्ष गम्भीर हुनु जरुरी देखिन्छ ।

यस्तै, नगरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली आगामी दिनमा छाेराकाे विवाह गर्न केटी पाउन गार्हो हुने अवस्था आउन सक्ने बताउँछन् । छोरीको संख्या कम भएपछि उनीहरूकाे माग बढ्नु स्वभाविक भएकाे भंसालीको भनाइ छ।

परिवार नियोजन संघ सप्तरी शाखाको तथ्यांकअनुसार सन २०२१ मा ६५, सन २०२० मा ५१ तथा सन २०१९ मा एक सय ३७ जना महिलाले सुरक्षित गर्भपतनको सेवा लिएका छन्। संघका शाखा प्रबन्धक विद्याकिशोर सिंहले सन् २०२० र २०२१ मा कोरोनाका कारण सेवाग्राही घटेको बताए। स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा ७३, भदौमा ४६ र असोजमा २६ महिलाले सुरक्षित गर्भपतन गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा ६ सय ५३ ,जना २०७६/७७ मा चार सय २५ जना र आर्थिक वर्ष २०७५/०७६ मा ६ सय पाँच जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।

यस्तो अवस्थामा मात्रै भ्रुण हत्या

हाडनाता करणी, आमाको ज्यान जोखिममा पर्ने देखिए, अपांगता भएको बच्चा जन्मने अवस्था देखिए १२ सातासम्म गर्भपतन गर्न सक्ने कानुनी प्रावधान छ । गर्भपतन अस्पताल, परिवार नियोजन संघ, निजी क्लिनिकलगायतमा मात्रै गर्ने पाइने भए पनि अवैध रुपमा गरिने गर्भपतनको रेकर्ड समेत राख्ने नगरेको नाम नबताउने सर्तमा एक चिकित्सकले बताए ।

पहिले पहिले लिंग पहिचान गरेर भ्रुण हत्या गर्न मिल्छ भन्ने बिषयमा अधिकांशलाई थाहा थिएन । धेरै स्रोतसाधन पनि थिएन । छोराको बाटो हेर्दाहेर्दौ जति छोरी जन्मिदा पनि स्वीकार्य हुन्थ्यो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट