ओली सरकार बचाउन जसपा विभाजित हुँदै

काठमाडौं । जनता समाजवादी पार्टीले सत्ता सहकार्यका लागि दलहरुसँग वार्ता गर्न वार्ता टोली बनाएको छ ।

अध्यक्ष महन्थ ठाकुरले पार्टीमा कुनै छलफल नै नगरि एकलौटी ढंगबाट पार्टीका कार्यकारिणी समितिका सदस्य सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई वार्ता समितिको जिम्मा दिएका छन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का प्रमुख नेता ठाकुरको उक्त कदमले जसपा विभाजनको बाटो कोर्ने संकेत देखिएको छ ।

ठाकुरले केपी ओली सरकारलाई समर्थन गर्दै भोलि उपसभामुख र अन्य केही महत्वपूर्ण मन्त्रालयको भाग लिएर सत्ता साझेदारी गर्ने स्रोतको दाबी छ ।

जसपामा उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेताहरु ओलीसँग सहकार्य गर्न नहुने पक्षमा छन् ।

तर महन्थ पक्षीय नेताहरुले आज दिउँसो सत्तारुढ एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपमहासचिव विष्णु पौडेलसँग गरेको वार्ता गरेका थिए । उक्त वार्तामा ओलीको सरकार जोगाउन उनीहरु तयार दिएको बुझिएको छ ।

यसले जसपा औपचारिक रुपमै बिभाजित भएको बताइएको छ । महन्थ उपेन्द्रको सँसदीय दल एकीकृत भएको जानकारी संसदलाई अहिलेसम्म नभएकाले दल विभाजनमा कुनै कानुनी झमेला नरहेको स्रोतको दाबी छ ।

३४ जना सांसद रहेको जसपामा पूर्व राजपाको १६ जना सांसद छन् । ठाकुरको सत्ता सहकार्यको निर्णयले राजनीतिको छेउमा पुगेका प्रधानमन्त्री ओलीलाई नयाँ राहत मिल्ने देखिएको छ । आइतबार मात्र ओलीले ठाकुरलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

प्रतिक्रिया

TOP