
काठमाडौं : नेकपा एमालेकी नेतृ एवं राष्ट्रियसभा सदस्य कोमल वलीले आफ्नै पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्धा दायर गरेकी छन् ।
उनले मंगलबार काठमाडौं जिल्ला अदालतमा पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी हुन् ।
पन्तले आफ्नो मानमर्दन हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै चर्चित लोकगायिका समेत रहेकी सांसद वलीले मुद्धा दायर गरेकी हुन् ।
उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेको बताइन् ।
‘मेरो इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा व्यक्तिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या गरेको र सो कुरा प्रचार, प्रसार र प्रकाशन गरी मेरो मान प्रतिष्ठा र इज्जतमा धक्का पुर्याउने गरी अभिव्यक्ति दिएको स्पष्ट हुँदा गालीतर्फ मुलुकी अपराध संहित २०७४ को दफा ३०५ (१) (२) कसुर गरेको हुँदा ऐ. दफा ३०५ (३) बमोजिम र बेइज्जतीतर्फ ऐनको दफा ३०६ (१) (२) (क) बमोजिम कसुर गरेको हुँदा ऐनको दफा ३०७ (१) बमोजिम सजाय गरी विपक्षीले मलाई बेइज्जती गर्ने कार्य विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र दश हजार जरिवाना समेत गरी हदैसम्मको सजाय गरी पाऊँ । साथै ऐनको २०७ को उपदफा (२) बमोजिम कसूरको गम्भीरता र मेरो प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट भएको बेइज्जती समेतलाई विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट दिलाई भराई पाऊँ,’ वलीले दर्ता गरेको मुद्दामा भनिएको छ ।
नेता पन्तले एक कार्यक्रममा पार्टीभित्र लामो समयदेखि योगदान दिएका महिलाहरुले अवसर नपाएको तर कोमल वलीले पोइल जान पाउँ भन्ने गीत गाएकै भरमा सांसद र केन्द्रीय सदस्य पद पाएको अभिव्यक्ति दिएका थिए ।
पन्तको अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो । सांसद वलीले पनि पन्तविरुद्ध अदालत जाने उतिबेलै चेतावनी दिएकी थिइन् ।
वलीसँग मुद्धा दर्ता गर्न एमालेकी केही महिला नेतृ पनि अदालत पुगेका थिए ।
वलीले सार्वजनिक रुपमा आफ्ना विरुद्ध अभिव्यक्ति दिएपनि पन्तले माफी नमागेको बताइन् ।
प्रतिक्रिया