एमालेको सचिवालय बैठक किन भयो स्थगित ?

नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ।

महासचिव पोखरेलले माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू एमालेमै फर्किने निर्णय गर्नुअघि मंगलबार बिहान ९ बजेका लागि सचिवालय बैठक आह्वान गरेका थिए ।

तर, नेपाल, खनालसहितका नेताहरूले एमालेमै फर्किने निर्णय सोमबार साँझ गरेका थिए।

नेपाल खनाल सहितको एमालेका बैठकका लागि ओली पक्षले रणनीति बनाइरहेको छ ।

सोमबार साँझ पनि ओली पक्षीय नेताहरुको बैठक बसेको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकताबाट गठन भएको नेकपाबारे निर्वाचन आयोगले गरेको निर्णय खारेज गरिदिएपछि यी दुबै पार्टी तीन वर्षपछि ब्युँतिएका छन्।

यसैबीच, एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको नाम र साइनबोर्ड राखिने भएको छ।

एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएपछि धुम्बाराही र पेरिसडाँडाका कार्यालयमा नेकपाको बोर्ड राखिएको थियो।

प्रतिक्रिया

TOP