
दैलेख : सोमबार विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा दैलेखको आठविस नगरपालिका-३ निमाईल बस्ती भने शोकमग्न थियो ।
नेपालमा पनि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले महिला अधिकारका कुरा गरे । महिला समानताका विषयमा काठमाडौंमात्र होइन, देशका सबै शहरमा साना ठूला कार्यक्रम भए ।
वक्ताले महिला अधिकार र समानताका कुरा गरे, सहभागि ताली पिटे । तर आज पनि महिला अधिकारकाबारेमा नसुनेका महिलाको संख्या उत्तिकै छ, जो आफ्नो अधिकारका लागि लड्न नसकेर मृत्युलाई अगाल्न विवस छन् ।
सोमबार दैलेखको आठविस नगरपालिका-३ निमाईलमा पनि एउटा त्यस्तै घटना भयो । आमासहित एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फाले ।
४ जना सन्तानसहित आमाले नदीमा हाम फालेको स्थानीयले बताएका छन् । तीमध्ये सोमबार दुई जनाको शव भेटिएको छ । शव भेटिनेमा बालबालिका हुन् ।
अझै आमा र दुई बालबालिकाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए।
१४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका -४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको हो ।
३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोरा ८ वर्षीय ललित बडुवाल र छोरी ५ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छन्।
श्रीमानले दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने भएकाले आमाले सन्तानसहित मृत्युको बाटो रोजेको हुनसक्ने अनुमान स्थानीयको छ । प्रहरीले श्रीमान् मानसिंह बडुवाललाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया