विश्‍वकै धनाढ्य महिलाले गरिन् दोस्रो विवाह

वासिङटन : अमेजनका मालिक तथा विश्वकै धनी व्यवसायीको रुपमा चिनिने जेफ बेजोसकी पूर्वपत्‍नी म्याकेन्जी स्कटले दोस्रो विवाह गरेकी छन् ।

२०१९ मा बेजोससँग डिभोर्स गरेकी स्कटले डन जेवेटसँग विवाह गरेकी हुन् ।

जेवेटले हालै आफ्नो आफूहरुबीच यही साता विवाह भएको कुरा सार्वजनिक गरेका हुन् ।

‘मैले चिनेकोमध्ये सबैभन्दा उदार र दयालु व्यक्तिसँग विवाह गरेको छु । र अरुको सेवामा सम्पत्ति दिने उनको सामाजिक काममा जोडिने प्रतिवद्धता गरेको छु’ जेवेटले भनेका छन् ।

म्याकेन्जी सिएटलस्थित आफ्ना चार सन्तान र पति डनसँग बस्दैआएकी छन् ।

अमेजनका सिइओ बेजोसबाट सम्बन्ध विच्छेद गरेसँगै सम्पत्ति भागबण्डाको क्रममा स्कट विश्वकै सर्वाधिक धनी महिलाको रुपमा चिनिएकी थिइन् ।

वाल स्ट्रिट जर्नलको प्रारम्भिक समाचार रिपोर्ट सार्वजनिक गरे अनुसार स्कट र डनबीच आइतबार विवाह भएको हो ।

बेजोस र स्कटले २५ वर्षको वैवाहिक सम्बन्ध तोड्दै २०१९ को जनवरीमा डिभोर्सको घोषणा गरेका थिए ।

चार सन्तानका बाबुआमा बनिसकेका उनीहरुले आफूहरुबीच कुनै वैमनष्यता नरहेको दावी गर्दैआएका थिए ।

तर डिभोर्सको केही दिनपछि नै बेजोसले केही महिनादेखि नै प्रेमिकासँग डेटिङ जाने गरेको खुलासा भएको थियो ।

बेजोसको विवाहेत्तर सम्बन्धका कारण सम्बन्ध विच्छेद भएको बताइएको थियो ।

डिभोर्सपछि स्कटले आफ्नो सम्पत्तिको आधा अंश दान गर्ने घोषणा गरेकी थिइन् । सोही अनुरुप उनी अहिले पनि सामाजिक सेवामा सक्रिय छिन् । उनका पति डनले समेत उनको यस अभियानमा प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

TOP