भारतको सहयोगमा विष्णुदेवी माविको भवन पुनर्निर्माण सुरु

काठमाडौं : भारत सरकारको सहयोगमा काठमाडौंको चन्द्रागिरी नगरपालिकामा रहेको श्री विष्णुदेवी माध्यमिक विद्यालयको भवन पुनर्निर्माण सुरु भएको छ ।

आज एक कार्यक्रमका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् ।

६ करोड ४९ लाख रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको विष्णुदेवी माविको भवन सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने भारतीय राजदूतावासले जनाएको छ ।

कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थिति रहेको थियो ।

शिक्षाको क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण हुन लागेको यो ६८ औं विद्यालय हो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक, भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय सामुदायिक सदस्य तथा विद्यालयका विद्यार्थीहरुको पनि उपस्थिति थियो ।

शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने नयाँ संरचनामा तीनवटा ब्लकहरु हुनेछन् जसमा १३ वटा कक्षा कोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन्, भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित छ।

०७२ सालको भूकम्पले क्षति पुनयाएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर करिब (नेरु ५.८ अर्ब) आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

प्रतिक्रिया

TOP