आजदेखि दोस्रो चरणको कोरोना खोप अभियान, झण्डै १८ लाख जेष्ठ नागरिकलाई खोप लगाइने

काठमाडौं : सरकारले आइतबारबाट ६५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत जेष्ठ नागरिकलाई कोरोना खोप लगाउने भएको हो।

नेपालमा ६५ वर्ष माथिका व्यक्तिको संख्या करिब १७ लाख ९१ हजार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अभियानको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएर सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओली कोरोना खोप लगाउन भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नेछन् ।

शनिबार युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेका कोभिड १९ खोप अभियान सम्बन्धी अन्तरक्रियामा मन्त्री त्रिपाठीले दोस्रो चरणको खोप अभियानबारे जानकारी दिए ।

सरकारले देशभरका ६ हजार खोप केन्द्रबाट प्रतिदिन २ देखि ३ लाख व्यक्तिलाई खोप लगाउने लक्ष्य राखेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए।

उनले खोप लगाउने कार्यक्रममा १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।

२० दिन सम्म सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा खोपको उपलब्धता र जोखिमको आधारमा सुरुका १० दिन ६५ वर्ष माथिका नागरिकलाई र बाँकी १० दिनमा ५५ देखि ६४ वर्षसम्मका जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य रहेको कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी गराए ।

उनका अनुसार हिमाली जिल्ला तथा उच्च पहाडी भेगको हकमा भने खोपको उपलब्धताको आधारमा ५५ वर्ष माथिका सबै व्यक्तिलाई खोप लगाउन सकिनेछ ।

प्रतिक्रिया

TOP