आज प्रतिनिधिसभा अधिवेशन सुरु, संसदमा नेकपाकै सत्ता पक्ष र प्रतिपक्ष

काठमाडौं : आज देखि प्रतिनिधिसभा अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको हिउँदै अधिवेशन आह्वान गरेकी हुन् ।

असार १७ गते प्रतिनिधि सभाको बर्खे अधिवेशन अन्त्य भएपछि आठ महिनापछि प्रतिनिधि सभा बैठक बस्न लागेको हो ।

संसदको हिउँदे र बर्खे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुुन नहुने संवैधानिक व्यवस्था भएपनि पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेपछि लामो समयपछि संसद बैठक बस्न लागेको हो ।

संविधान अनुसार पुस १८ गते प्रतिनिधि सभाको अधिवेशन बोलाउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई सर्वाेच्च अदालतले खारेज गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो ।

सर्वाेच्चको फैसला अनुसार सरकारले एकदिन अघि प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो ।

नेकपाको आन्तरिक विवादका बीच प्रतिनिधि सभा विघटन गरिएको थियो । यसबीचमा नेकपा विवाद उत्कर्षमा छ ।

प्राविधिक रुपमा नेकपा विभाजन भइनसकेपनि दुई पार्टीका रुपमा सांगठानिक गतिविधि तीब्र बनेका छन् ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा नेकपाको विवादको असर देखिने अनुमान गरिएको छ । संसद सचिवालयले नेकपाका दुबै समूहलाई सत्तारुढ दलकै लाईनमा बस्ने व्यवस्था गरेको छ । तर प्रचण्ड–नेपाल समूहले भने प्रतिपक्षीको लाइनमा बस्ने संकेत गरेका छन् ।

पहिलो बैठकका कार्यसूची

संसद सचिवालयले प्रकाशित गरेको प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा सम्भावित कार्यसूचीमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम उल्लेख छैन ।

पहिलो बैठकमा संसदमा रहेका दलका नेताहरुले सम्बोधन गर्ने प्रचलन रहेकोमा यसपटक भने त्यो उल्लेख छैन ।

संसद सचिवालय स्रोतका अनुसार सम्भावित कार्यसूची तयार गर्ने बेलासम्म नेताहरुले सम्बोधन गर्नेबारे कुनै जानकारी आएको छैन ।

कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश पेश गर्ने उल्लेख छ ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश र तेजाव तथा अन्य घातक रासायनिक पद्धार्थ सम्बन्धी अध्यादेश पेश गर्नेछन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गर्नेछन् ।

प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसदहरुलाई कोरोना खोप लगाइएको छ । संसद सचिवालयका अनुसार २५५ जना सांसदले कोरोना खोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले भने आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर कोरोना खोप लगाउने तयारी छ ।

प्रतिक्रिया

TOP