चितवन : पहिरो नियन्त्रणको काम पुरा गर्न नारायणगढ-मुग्लिन सडक आइतबारदेखि दिउँसोको समयमा फेरि बन्द हुने भएको छ ।
नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार आइतबारदेखि आउँदो शनिबार फागुन २९ गतेसम्म यो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने छ ।
एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका गाडी भने चल्न दिइने छ ।
कालिखोला चार किलो नजिक पहिरो नियन्त्रणको काम पुरा हुन सकेको छैन । ‘सोही ठाउँमा काम गर्न सडक बन्द गर्न लागिएको हो ।
भिरमा अड्केका ढुंगा, माटो र खस्ने सम्भावना भएका सबै पदार्थ झारेर सकेपछि बल्ल पहिरो नियन्त्रणको काम गर्नु पर्ने हुन्छ । गाडी खुला राखेर यो काम गर्न सम्भव हुँदैन ।
त्यसैले एक हप्ताका लागि दिउँसोको समयमा झण्डै साढे चार घण्टा गाडी रोक्नु परेको हो,’ सूचना अधिकारी रानाभाटले भनिन् ।
प्रतिक्रिया