
काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । काठमाडौंबासीका धारामा पानी वितरण गर्ने प्रमुख केन्द्र हो सुन्दरीजल ।
सुन्दरीजलमा पानी प्रशोधित भएपछि काठमाडौंबासीका धारामा पानी पठाइनेछ । तीन दशक अघि देखिको काठमाडौंबासीको प्रतिक्षाको हो, मेलम्ची ।
सुन्दरीजल आइपुगेको पानी अब काठमाडौंबासीका धारामा कहिले पुग्छ, अर्काे प्रतिक्षाको विषय बनेको छ ।
फागुन १० गते सिन्धुपाल्चोकको मेलम्चीबाट सुरुङमा हालिएको पानी ११ औं दिनमा काठमाडौंको सुन्दरीजलमा पुगेको हो । यो पानी अहिले बागमती नदीमा खसालिएको छ ।
सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।
शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ ।
मेलम्चीमा लामो समयको प्रतिक्षा पुरा भएको भन्दै उनले केही दिनमा धारामा पानी आउने बताए ।
‘यसअघि काम गर्न दिएनन्, आफ्नै पार्टीबाट असहयोग भयो भन्नुपरेको भन्दै उनले भने, ‘अब त प्रमाणित भयो होला नि । दिनैपिच्छे ठूलठूला काम भएका छन् । कही उद्घाटन भएका छन्, कहि शिलान्यास भएका छन् ।’
काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई उनले धन्यवाद दिए ।
प्रतिक्रिया