आइतबारदेखि दोस्रो चरणको कोरोना खोप अभियान, ६५ वर्ष माथिकालाई प्राथमिकता

काठमाडौं : सरकारले आइतबारबाट ६५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत जेष्ठ नागरिकलाई कोरोना खोप लगाउने भएको हो।

अभियानको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएर सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओली कोरोना खोप लगाउन भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नेछन् ।

शनिबार युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेका कोभिड १९ खोप अभियान सम्बन्धी अन्तरक्रियामा मन्त्री त्रिपाठीले दोस्रो चरणको खोप अभियानबारे जानकारी दिए ।

सरकारले देशभरका ६ हजार खोप केन्द्रबाट प्रतिदिन २ देखि ३ लाख व्यक्तिलाई खोप लगाउने लक्ष्य राखेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए।

उनले खोप लगाउने कार्यक्रममा १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।

२० दिन सम्म सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा खोपको उपलब्धता र जोखिमको आधारमा सुरुका १० दिन ६५ वर्ष माथिका नागरिकलाई र बाँकी १० दिनमा ५५ देखि ६४ वर्षसम्मका जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य रहेको कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी गराए ।

नेपालमा ६५ वर्ष माथिका व्यक्तिको संख्या करिब १७ लाख भन्दा बढी भएको डा उप्रेतीले बताए।

उनका अनुसार हिमाली जिल्ला तथा उच्च पहाडी भेगको हकमा भने खोपको उपलब्धताको आधारमा ५५ वर्ष माथिका सबै व्यक्तिलाई खोप लगाउन सकिनेछ ।

आठ हप्ताको अन्तरमा कोरोना खोपको दोस्रो मात्रा लगाउँदा पूर्णरुपमा सुरक्षित रहने स्वास्थ्य मन्त्रालयको दावी छ ।

कोभिसिल्ड खोपको प्रभावकारिता ७१ प्रतिशत रहेकोले डा उप्रेतीले बताए । नेपालम भारतमा निर्मित कोभिसिल्ड खोपको प्रयोग भइरहेको छ ।

मुटुरोग, मस्तिस्कसम्बन्धी समस्या फोक्सो, मृगौलापीडित, क्यान्सर, पहिला कोभिड–१९संक्रमण भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र स्तनपान गराइरहेका आमाले कोभिसिल्ड खोप लगाउन मिल्ने मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार १८ वर्षमुनिका बालबालिका, गर्भवती महिला, गम्भिर एलर्जी भएका व्यक्तिले भने कोभिसिल्ड लगाउन नहुने विज्ञहरुले सुझाव दिएका छन् ।

सरकारले कोरोना खोपको पहिलो चरणमा स्वास्थ्यकर्मी, कुटनितीज्ञ, राजदुतावासका कर्मचारी, पत्रकार, अग्रपंक्तिमा खटिएका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारीसहित ४ लाख २९ हजार ७ सय ५ जनालाई कोरोना खोप लगाइसकेको छ ।

प्रतिक्रिया

TOP