प्रधानमन्त्रीले आइतबार कोरोना खोप लगाउने, भोली नै भारतबाट ३ लाख ४८ हजार डोज खोप आइपुग्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

उनले बिहान १० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनासंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

प्रधानमन्त्रीले खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु हुने मन्त्री त्रिपाठीले बताए ।

उनका अनुसार भोली नै भारतबाट थप ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्नेछ।

नेपाल सरकारले भारत सरकारसँग २० लाख डोज खोपका लागि अग्रीम भुक्तानी दिइसकेको छ ।

यसअघि १० लाख डोज आइपुगिसकेको छ ।

बाँकी खोप पनि चाँडै आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा दोस्रो चरणको खोप फागुन २३ गतेदेखि लगाइँदैछ । प्राथमिकताका आधारमा यसअघि ५५ वर्षभन्दा माथिकालाई कोरोना खोप लगाइने भनिएपनि सरकारले नीतिमा परिवर्तन गरेको छ ।

अब ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

सुरुमा ५५ वर्षमाथिका व्यक्ति, दीर्घ रोगी, शिक्षक, प्राध्यापक, चालक, सहचालक लगायतलाई दोस्रो चरणको पहिलो प्राथमितकामा राखेको थियो ।

तर खोप समयमै नआउदा अहिले ६५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउने तय भएको हो ।

प्रतिक्रिया

TOP