
काठमाडौं : नेपाली कांग्रेसका सांसदहरुले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने सुझाव दिएका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य गर्न नहुनेमा नेतृत्वको ध्यनाकर्षण गराए ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सबैजसो सांसदहरुले सरकारको नेतृत्व गरेर कांग्रेस सरकारमा जानुपर्ने सुझाव दिएका हुन् ।
बैठकमा बोल्ने सबैजसो सांसदले सरकार गठनकै बारेमा बोले । अधिकांश सांसदहरुले सरकारमा जाने भए कांग्रेसको नेतृत्व हुनुपर्नेमा जोड दिए ।
‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भने सरकार जानुपर्छ भन्ने नै सबै सांसदको राय थियो,’ सांसद डा. डिला संग्रौलाले भनिन्।
सांसदहरुले ओलीसँग सत्ता सहकार्य भने गर्न नहुनेमा जोड दिए ।
उनीहरुले ओली सरकारविरुद्ध कांग्रेस निरन्तर आन्दोलनमा रहेकाले फेरी सोही सरकारसँग समिकरण गर्न नैतिक रुपमा पनि नमिल्ने तर्क गरे ।
‘ओली सरकारसँग मिलेर जाँदा हामीले जनतालाई के जवाफ दिने ?’ सांसद गगन थापाको भने, ओलीसँग मिलेर सरकार बनाउने कुरा सोच्न पनि सकिन्न ।’
उनले पार्टीको केन्द्रीय समिति बैठक बोलाएर निष्कर्शमा पुग्न सभापति देउवालाई सुझाव दिए ।
सांसद भीमसेन दास प्रधानले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए श्वेतपत्र जारी गर्नुपर्ने सुझाव दिए ।
सांसद मोहन प्रसाद पाण्डेले महाधिवेशन हेरेर सरकारको नेतृत्व गर्ने अवसरबाट पार्टीलाई बञ्चित गर्न नहुने बताए ।
‘महाधिवेशनलाई हेरेर कांग्रेस सरकारमा जानुहुँदैन भन्न मिल्दैन । दलको नेता पार्टी सभापति शेरबहादुर देउवा हो । प्रधानमन्त्री उहाँ नै बन्ने हो,’ उनले भने, ‘भोली महाधिवेशनमा प्रभाव पर्छ भनेर प्रधानमन्त्री बन्नबाट रोक्ने काम गर्नुहुँदैन ।’
महामन्त्री डा. शशांक कोइराला भने बैठकमा केही नबोली निस्किए । उनी कार्यक्रमा जानुछ भन्दै निस्किएका थिए । कोइरालाले प्रचण्ड–नेपाल समूहसँग मिलेर कांग्रस सरकारमा जानुपर्ने सार्वजनिक रुपमै बताइसकेका छन् ।
प्रतिनिधि सभा अधिवेशन फागुन २३ गते बोलाइएको छ । संसद अधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी भएपनि कांग्रेसले भने परिस्थिति हेरेर आवश्यक निर्णय लिने संकेत गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले सांसदहरूको सुझाव र सल्लाहलाई मध्यनजर गरेर पार्टीले अविश्वास प्रस्तावबारे उपयुक्त समयमा आवश्यक निर्णय लिने बताए ।
प्रतिक्रिया