काठमाडौं : स्थानीयको विरोधका बीच प्रहरी प्रशासनको आडमा मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गरेको भन्दै पूर्वमन्त्री एवं नेकपाका नेता घनश्याम भुसालले आपत्ति जनाएका छन् ।
उनले स्थानीयमाथि दमन गरेर औद्योगिक करिडोरको उद्घाटन गरिएको आरोप लगाए ।
आज स्थानीयको विरोधका बाबजुत अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले करिडोरको शिलान्यास गरेका थिए ।
विरोधमा उत्रिएका स्थानीय माथि प्रहरीले दमन गरेपछि झडपको स्थिति बनेको थियो। स्थानीयले अर्थमन्त्री पौडेल बोल्दैगर्दा ढुंगामुढा गरेका थिए ।
स्थानीयले विरोध गर्न थालेपछि प्रहरीको सुरक्षामा अर्थमन्त्री बोल्न छोडेर कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै काम अगाडि बढाउने विषयमा भएको सहमति तोडेर शुक्रबार मन्त्रीहरु गएर नागरिकमाथि गरेको दमनको हिसाबकिताब हुने चेतावनी भुसालले दिए ।
‘वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अगाडि बढाउने विषयमा उद्योगमन्त्री, औद्योगिक व्यवस्थापन लिमिटेडका अधिकारीहरुसँग भएको सहमतिसमेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौँ सुरक्षाकर्मीका घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नाङ्गो नाचेका छन् त्यसको हिसाबकिता हुने नै छ’, भुसालले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘आफ्नो हकअधिकारको रक्षाका लागि उभिएका स्थानीय निहत्था नागरिक, खासगरी युवा र महिलामाथि आज उनीहरुले जुन दमन गरेका छन, अपमानित गरेका छन् र घाइते बनाएका छन् ती अपराधीहरुलाई जनताको परीक्षणमा खडा गरिनेछ ।’