
काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आजको दिनलाई नेपाली राजनीतिको नयाँ दिन भएको बताएका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित नेपाल सरकार र नेकपाबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिलाई नेपाली राजनीतिको नयाँ दिन भएको उल्लेख गरेका हुन् ।
उनले सरकारसँग भएको तीन बुँदे सहमतिलाई इमान्दारितापूर्वक पालना गर्ने बताए ।
‘तीन बुँदे सहमतिप्रति नेकपा प्रतिवद्ध छ । हामी यसलाई पालना गर्दछौं । कसैले आशंका र कुतर्क गरेर केही अर्थ छैन,’ उनले भने ‘यसलाई सफल पार्न तीन बुँदे सहमपतित्र सफलतापूर्वक तयार पार्ने र सहमति कायम गर्न सफल वार्ता टोलीका सदस्यहरुलाई हार्दिक बधाई छ ।’
साथै उनले वार्तालाई सफल बनाउन भूमिका खेल्ने कानुन व्यवसायी, पत्रकार, बुद्धिजीवी, सेना, प्रहरी सबैलाई सम्मान व्यक्त गरे ।
‘यो सहमति केवल नेपाल सरकार र नेकपाबीचको मात्र होइन , यो सहमतिपछिको लुकेको हाम्रो महान अपेक्षा छ, त्यो भनेको नेपाल देशलाई आत्मनिर्भर बनाउने, समृद्ध बनाउने अभियान हो,’ उनले भने, ‘नेपालका युवाहरुभित्र हुर्किएको समृद्ध चाहना छ । त्यसलाई पुरा गर्नुछ ।’
काठमाडौं आउनुअघि आज बिहान नवलपरासीमा सहिद परिवारलाई भेटेको प्रसँग उल्लेख गर्दै विप्लवले भने, ‘शहिदको सपना पुरा भएको छैन । हामी गरिवहरुको सपना पूरा भएको छैन ।’
प्रतिक्रिया