मुस्कान खातुनलाई अमेरिकाले गर्‍यो ठूलो सम्मान

काठमाडौं : एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई अमेरिकी सरकारले सम्मान गर्ने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार खातुनलाई प्रदान गरिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यो पुरस्कार पाउने खातुन पहिलो नेपाली हुन् ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाको प्रतिष्ठित पुरस्कारबाट खातुनलाई सम्मान गर्न लागेको खवर सार्वजनिक गर्न पाउँदा निकै खुसी भएको बताएका छन् ।

पुरस्कार मार्च ८ मा भर्चुअल कार्यक्रममार्फत प्रदान गरिनेछ । सम्मान समारोहमा अमेरिकी प्रथम महिला र विदेशमन्त्री सहभागि हुनेछन् ।

१५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ ।

यसका अघिल्ला विजेतामध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन् । जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन् ।

१५ वर्ष उमेर छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको थियो । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो ।

प्रतिक्रिया

TOP