
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । आज दिउँसो सिंहदरवारस्थित संसदीय दलमा बैठक बस्ने भएको हो ।
सरकारले फागुन २३ गते प्रतिनिधि सभा अधिवेशन बोलाएपछि सम्भावित सत्ता समिकरणबारे संसदीय दलको बैठकमा कांग्रेसले छलफल गर्न लागेको हो ।
कांग्रेससँग सत्ता सहकार्यका लागि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का दुबै समूहले प्रस्ताव राखेपनि कांग्रेसले भने अन्तिम समयमा निर्णय गर्ने संकेत गरेको छ ।
संसद पुनस्र्थापनापछि विकसित राजनीतिक घटनामा कांग्रेसको भूमिकाका बारेमा पार्टीभित्र समझदारी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय फाँटका नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए ।
सभापति देउवाले सत्ता सहकार्यका लागि नेकपाका दुबै समूह (ओली र प्रचण्ड-नेपाल) ले प्रस्ताव गरिरहेको नेताहरुलाई जानकारी गराएका थिए ।
बैठकमा सभापति देउवाले सबै नेताका सुझाव सुनेपनि अहिले नै निर्णयमा पुग्न नहुनेमा जोड दिए । ‘हामीसँग समय छ, हतारिएर निर्णय गर्ने बेला भएको छैन,’ देउवाको भनाई उद््धृत गर्दै एक नेताले भने, ‘संसदीय दलमा पनि कुरा सुनौं । परिस्थिति कसरी अगाडि बढ्छ, त्यही ढंगले हामीले निर्णय गर्नुपर्दछ ।’
प्रतिक्रिया