
काठमाडौं : सरकारले प्रतिवन्ध लगाएपछि भूमिगत बनेका नेपाल कम्यूनिष्ट पार्टी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव आज सार्वजनिक हुँदैछन् ।
सरकार र विप्लव समूहबीच वार्ता सफल भएपछि उनी एक समारोहका बीच सार्वजनिक हुन लागेका हुन् ।
आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले दुई पक्षीबीच भएको सहमति सार्वजनिक गर्ने कार्यक्रम छ । दुबै नेताले उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
बुधबार बिहानदेखि विभिन्न चरणमा भएको वार्ता बिहीबार सहमतिमा पुगेको हो ।
दुई पक्षबीच तीन बुँदे सहमति भएको छ ।
विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।
सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका थियो ।
सहमतिपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
विभिन्न जिल्लामा पक्राउ परेका विप्लव कार्यकर्तालाई छाड्न गृहमन्त्रालयले स्थानीय प्रशासनलाई बिहीबार नै सर्कुलर गरिसकेको छ ।
प्रतिक्रिया