संसदीय दलबाट ओली, नेम्वाङलाई कारवाही गरेकोबारे संसदलाई जानकारी

काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहले संसदीय दलबाट दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई कारवाही गरिएको व्यहोरा संसद सचिवालयलाई बुझाएको छ ।

प्रचण्ड नेपाल समूहको बुधबारबसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको निर्णय लिएर प्रचण्ड नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, देव गुरुङ, जीवराम श्रेष्ठलगायतका नेताहरु बिहीबार संसद सचिवालय पुगेका थिए ।

‘संसद्‍ पार्टीका संसदीय दलका निर्णयअनुसार चल्ने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद् सचिवालयलाई जानकारी गराएका छौं,’ नेता सुरेन्द्र पाण्डेले भने ‘प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका व्यक्तिबारे पार्टीले गरेका निर्णय जानकारी गराएका हौ ।’

प्रचण्ड-नेपाल समूहले प्रमुख सचेतकको जिम्मेवारी पाएका ओली निकट विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, कर्ण थापा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

पितृशोकमा रहेका कारण गोकुल बाँस्कोटालाई तत्काल केन्द्रीय सदस्यबाट हटाउने निर्णय स्थगित भएको छ ।

प्रतिक्रिया

TOP