पार्टी एकता जोगाउन नेकपाका नेताहरु सक्रिय, शंकर पोखरेल र घनश्याम भुसालबीच ४५ मिनेट वार्ता

काठमाडौं : पार्टी विभाजन रोक्न नेकपाका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गर्ने कदम चालेपछि नेकपा विभाजनको सम्मुखमा छ ।

कानुनीमा रुपमा एउटै पार्टी भएपनि नेकपाका दुबै समूहले छुट्टाछुट्टै पार्टीका रुपमा संगठन सञ्चालन गर्दै आएका छन् ।

सर्वाेच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड नेपाल समूहको तयारी छ ।

यही बीचमा पार्टीलाई एक ढिक्का राख्न नेकपाका दोस्रो तहका नेताहरु भेटघाट र छलफलमा जुट्न थालेका हुन् ।

आज नेकपाका नेताहरु घनश्याम भुसाल र शंकर पोखरेलबीच सिंहदरवारमा छलफल भएको छ ।

नेकपाको संसदीय दलको कार्यालयमा दुई नेताबीच करिव ४५ मिनेट कुराकानी भएको हो । दुई नेताले पार्टी एकतालाई जोगाउन कुराकानी भएको प्रतिक्रिया दिएका छन् ।

पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताए।

‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं। यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो। आजको छलफल त्यसैको श्रृंखला हो,’ भुषालले भने, ‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन।’

भुसाल र पोखरेल पूर्व नेकपा एमालेका नेता हुन् ।

प्रतिक्रिया

TOP