देउवालाई भेटेका ज्योतिष भन्छन् : मैले भविष्यबाणी सुनाए, उहाँ बोल्नुभएन तर भ्रमपूर्ण समाचार आए

काठमाडौं : बुधबार दिनभर एउटा समाचार निकै चर्चामा रह्यो ।

मुलुकमा राजनीतिक संकट गहिरिदै गएका बेला आज चर्चामा आएको समाचार भने अलि भिन्न थियो ।

समाचार थियो, राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका बारेमा ।

ज्योतिषले ‘सात पटक प्रधानमन्त्री बन्ने’ भनाई देउवासँग जोडिएर निकै चर्चा हुने गरेको छ ।

आज पनि ज्योतिष र देउवाकै बीचकै विषयले चर्चा पायो ।

सञ्चारमाध्यममा आए अनुसार ज्योतिषले ‘देउवाका अबका तीन महिना शुभ नरहेको’ बताएका थिए।

देउवाले ‘मैले यति लामो समय के गर्ने ?’ भनेर प्रतिक्रिया दिएको समाचारमा दावी छ ।

तर देउवालाई आज भेट्न पुगेका ज्योतिष सुरेशचन्द्र रिजालले सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाएका छन् ।

आफूले देउवालाई भेटेपनि दुई जनाबीचको संवादलाई अनुमानका भरमा समाचार लेखेको भन्दै ज्योतिष रिजालले खण्डन गरेका हुन् ।

उनले बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै आफूले ज्योतिषीय भविष्यवाणी गरेपनि देउवाले भने कुनै प्रतिक्रिया नदिएको प्रष्ट पारेका छन् ।

‘पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज बिहान म प्रसाद लिएर उहाँको निवास पुगेको थिएँ । भेटको क्रममा मैले अवका तीन महिना त्यति राम्रो छैन भन्ने ज्योतिषिय भविष्यवाणी उहाँलाई सुनाएको हुँ,’ ज्योतिष रिजालले भने, ‘तर त्यस विषयमा उहाँले कुनै प्रतिक्रिया जनाउनु भएको थिएन । तर केही मिडियाहरुमा उहाँले भनेका विचारहरु अनुमानका आधारमा आएकाले त्यसको भत्सना गर्दछु।’

उनले आफू प्रसाद दिएर फर्किएको र देउवासँग त्यो बाहेक कुनै कुराकानी नभएको प्रष्ट पारे।

‘संचार माध्यामहरुले समाचार बनाउदा अनुमानको भरमा नबनाउन पनि अनुरोध गर्न चाहन्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

No description available.

प्रतिक्रिया

TOP