
काठमाडौं : संयुक्त राष्ट्रसंघीय निकाय संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए)ले सरकारलाई ठूलो संख्यामा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बुधबार यूएनएफपिएले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६ हजार ४८ सेट व्यक्तिगत सुरक्षा कवच (पिपिई), पचास हजार थान ग्लोब्स्, पचास हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री (आइएआरएच किट्स) हस्तान्तरण गरेको हो ।
सरकारलाई प्रदान गरिएको स्वास्थ्य सामग्रीले यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड-१९ महामारी नियन्त्रण गर्ने सरकारको प्रयासलाई सहयोग पु¥याउने यूएनएफपिएको विश्वास छ ।
नेपाल, चीन र यूएनएफपिए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
‘प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् जसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्नेछ,’ यूएनएफपिएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरु र यूएनएफपिए प्रतिनिधिको उपस्थिति थियो ।
प्रमुख विशेषज्ञ डा. पोखरेलले कोभिड-१९ महामारीमा संकटासन्न महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘हाम्रो प्रयास कोभिड–१९ रोकथामका लागि निरन्तर छ र धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रित छ । यो महत्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेको छ । हामी चीन सरकार र यूएनएफपिएप्रति आभारी छौँ,’ उनले भने ।
मन्त्रालयले प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्ने यूएनएफपिएको विश्वास छ ।
“स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सामग्री उपलब्ध हुदाँ महिला र किशोरीको लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा सुरक्षित रुपमा प्रदान गर्न सहज हुने वास्तविकता सर्वविदितै छ । नेपालमा प्रगतिशील नीतिगत वातावरणको बाबजुद रोकथाम गर्न सकिने मातृ मृत्यु र लैङ्गिक हिंसाको अवस्था अन्य देशको तुलनामा निकै उच्च रहेको छ,’ नेपालका लागि यूएनएफपिए प्रतिनिधि लुब्ना बाकिले भनिन्, ‘चीन सरकारबाट प्राप्त यस किसिमको सहयोग अत्यन्तै सराहनीय छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ माहामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनिय रहेको छ ।”
यसअघि पनि नेपाल, चीन र यूएनएफपिए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत ११ सय सेट पिपिइ र तीन हजार ६ सय थान स्यानिटाइजर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया