कांग्रेसले भन्यो : सरकार र विप्लव समूहद्वारा वार्ता समिति गठन सकारात्मक

काठमाडौं : नेपाली कांग्रेसले सरकार र विप्लव समूहले वार्ता समिति गठन गरेकोमा खुसी व्यक्त गरेको छ ।

कांग्रेसले दुबै पक्षलाई ईमान्दार वार्ताबाट समाधानमा पुग्न पनि अपील गरेको छ ।

कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सरकार र विप्लव समूहले वार्ताका लागि पहल थालेकोमा खुसी व्यक्त गर्दै सकारात्मक पहल भनेको छ ।

‘नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको छ,’ प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’

सरकार र विप्लव समूहले मंगलबार छुट्टाछुट्टै वार्ता समूह गठन गरेका हुन् ।

सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेको छ ।

विप्लवले खड्ग बहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

प्रतिक्रिया

TOP