Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • जनमतकाे ‘जनकारवाही’ को सन्दर्भमा के भन्छन् जनकपुरका युवा ?

    जनमतकाे ‘जनकारवाही’ को सन्दर्भमा के भन्छन् जनकपुरका युवा ?

    आदित्य नेपाल
    कार्तिक ६ २०७८, शनिबार
    18.9K
    SHARES

    काठमाडौँ । बिहिवार सीके राउत नेतृत्वको जनमत पार्टीले ‘जनकारवाही’को नाममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुशवाहमाथि दुर्व्यवहार गरेको थियो । प्रमुख कुशवाहमाथि जनमत पार्टीका सयाैँका संख्यामा रहेका नेता तथा कार्यकर्ताहरुले दुर्व्यवहार गरेका थिए ।

    भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीले कुशवाहको माथिल्लो शरीर नाङ्गै पारी हिलो छ्यापेर नगर परिक्रमा नै गराएकाे थियाे । प्रमुख कुशवाहलाई नाङ्गै पारेर नगर परिक्रमा गराएको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल नै भएकाे छ ।

    यस्ताे ‘जनकारवाही’ लाई देशभर कयौंले समर्थन जनाएका थिए भने कयौंले निन्दा गरेका थिए । यी घटनालाई केलाएर हेर्दा आलोचना गर्ने र समर्थन गरेर पिठ्यु थपथप्याउनेको संख्या बराबर भेटिन्छ।

    कतिले जनकारवाहीको समर्थन गरेका छन भने कतिले कडा विरोध जनाएका छन्। तर जनमत पार्टीका अध्यक्ष डा. राउत आफूहरुले गरेको काम जायज र आवश्यक रहेको तर्क सामाजिक सञ्जाल फेसबुक मार्फत राखेका छन् ।

    यसै घटनाको सन्दर्भमा जनकपुरका चिरपरिचित युवा नेताहरुले आफ्नाे धारणा राखेका छन् । उनीहरुकाे धारणा यस प्रकार छ ।

    सरोज मिश्र – युवा नेता ( नेकपा एमाले )

    कुनै पार्टी, कुनै व्यक्ति विशेष वा कुनै समूह अदालत र कानून आफै बन्ने होइन। जनकारवाहीको आवश्यकता आफुलाई जनताको प्रतिनिधि भन्न रुचाउने नेता, पार्टी प्रतिनिधि, मेयर, मन्त्री आदिहरूलाई छ।

    जनकपुरमा घनघोर भ्रष्टाचारी मध्येको एक कुख्यात भ्रष्टाचारी यदि कोही छ भने त्यो जनकपुर उप महानरकपालिकाका इन्जिनियर बिरेन्द्र यादव हुन। जनकारवाहीको आवश्यकता यिनी जस्तालाई पो छ।

    सबैभन्दा ठुलो भ्रष्ट त जनमत पार्टिकै अध्यक्ष डा सी.के.राउत आफै हुन। जसले आफ्नो एजेन्डा नै बिक्री गरे। जसले पटक पटक आफ्नो विचार फेर्दै आफ्नो समर्थकहरुलाई मूर्ख बनाए।

    पार्टिलाई कहाँ-कहाँ बाट कति-कति अनुदान र सहयोग प्राप्त भइरहेको छ र भएको छ त्यो अपारदर्शी राखे। उनको दैनिक जीवन यापनको श्रोत के ? अनि उनी माथि जनकारवाही किन नहुने, नगर्ने ?

    सी.के.राउत ले विगतमा मधेसलाई छुट्टै देश बनाउने मुद्दा बोकेका थिए र पछि गएर आफ्नो त्यो विखण्डनको मुद्दा त्यागेर मधेसको राजनीतिमा आए। अहिलेको अवस्थामा उनी बिना मुद्दाका नेता भएर पार्टी खोले।

    उनीसँग आउँदो निर्वाचनमा आफू र आफ्नो पार्टिलाई सबल बनाउने आधार थिएन जून आधार प्रदेश र स्थानीय सरकारले गरेको अनियन्त्रीत भ्रष्टाचारले दियो तर उनले यी मुद्दाको सदुपयोग कानूनी र प्रतिपक्षीको रुपमा गर्नुको साटो अराजक शैलीमा गर्नु गलत हो। सी. के लाई मेरो समर्थन छैन तर भ्रष्टाचारको म घनघोर बिरोधी हुँ।

    सुशील कर्ण – युवा नेता ( लोसपा )

    म सकारकत्मक छु। यस्तो कार्य हुनुपर्छ। म समाजिक संजालमा पनि समर्थन जनाएको छु। म यस्तो कार्यको समर्थक हुँ। अहिलेको जुन कर्मचारीतन्त्र र जनप्रतिनिधिको शैली छ, उनीहरुलाई यस्तै जवाफ जरुरी छ।

    यसरी नै सुन्छन यिनीहरु। यसरी न सुनेको भए , आज मेयर जनकपुर उपमहानगरपालिका भित्रै ताला लगाएर किन लुकेर बसेका छन् ?

    तसर्थ यहीँसम्म मात्र होइन, मुख्यमन्त्री कार्यलयदेखि स्थनीय सरकारको वडा कार्यलयको सदस्यहरुसँग पनि यहि रवैयामा प्रस्तुत हुन जरुरी छ। यस्तो हुनुपर्छ, म यसको समर्थक हुँ। अख्तियार आफैमा शंकास्पद छ। अख्तियारको जुन नियुक्ति छ त्यो राजनीतिक नियुक्ति हो र जबसम्म राजनीतिक नियुक्ति रहिरहन्छ तबसम्म भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न असम्भव छ।

    म सिके राउतको समर्थक होइन न त सिके राउतको कार्यकर्ता हुँ र कहिले सिके राउतको पार्टिको सदस्यता पनि लिन्न। तर यहि शैलीबाट कुनै समुह, पार्टि र संगठन कार्य गर्छ भने मेरो नैतिक समर्थक रहन्छ। भौतिक उपस्थिती सहितको समर्थन रहँदैन।

    कम से कम भयभित त छन कर्मचारी र जनप्रतिनिधिहरु । यातायातमा जानुस् बिना पैसाको कुनै काम हुँदैन, पैसा दिनुस् द्रुत गतीमा काम हुन्छ। प्रमुख जिल्ला अधिकारीको काार्यलयमा जानुस् कुनै सिफारिसको लागि कयौं पटक दौडिनु पर्छ तर केही पैसा मात्र दिनुस् काम हुन्छ। सबै कार्यलयको यहि दुर्दशा छ।

    कर्मचारीतन्त्र भित्रको भ्रष्टाचार रोक्नका लागि दिनहुँ कयौं उजुरी पर्छ तर कति जनालाई कारवाही भयो ? तसर्थ अब यो समाजमा एउटै विकल्प बाँकी रहयो त्यो हो जनकारवाही।

    धर्मेन्द्र साह – युवा नेता

    भ्रष्टाचारको विरोध गर्नु त ठिकै हो, राम्रै कुरा छ । विरोध गर्नु पनि पर्छ। तर शैली ठिक भएन, तरिका ठिक भएन। कानुनी सम्मत तरिकाले गएको भए अझै राम्रो हुन्थ्यो। देशमा न्यायलय छदैँछ मुद्या हालेको भए हुन्थ्यो।सिडिओ माथि दबाब सिर्जना गर्न सकिन्थ्यो, प्रदेश सरकार माथि दबाब दिन सकिन्थ्यो।

    तरिका त बिल्कुलै भएन, यसरी त मनोबल घटछ सरकारी कर्मचारीहरुको। सामुदायीक र समप्रदायीक दङा भडकिन सक्छ यसरी। हाम्रो मधेशमा त तुरुनतै जातियता द्वन्दहरु पनि फैलिन्छ। यस्ता क्रियाकलापबाट सतर्क हुन जरुरी छ।

    सिके राउत त बुझने मान्छे हुन्। शिक्षित व्यक्तिबाट यस्तो हर्कत हुनु त एकदमै नराम्रो र निन्दनीय कुरा हो। हामीले त धेरै अपेक्षा राखेका छौँ उहाँसगँ।

    अब अगामी दिनहरुमा यस्ता गतिविधीहरु नदोहोरियोस भन्ने चाहन्छौँ। तर फेरी पनि यस्ता हर्कतहरु दोहरिन्छन भने जनकपुरका युवाहरु खास गरेर यहाँका स्थानीयबासीहरू प्रतिकारमा उत्रिनसक्छन्। सम्भावना त्यस्तै देखिरहेको छु।

    किनभने यस्ता हर्कतहरुले जनकपुर बदनाम भइरहेको छ। देशैभर खासगरेर ठुलोठुलो मिडियामा जनकपुर माथि नराम्रो टिकाटिप्पणीहरु भइरहेको छ। विरोध गर्नु त ठिकै हो, गलत भइरहेको छ त्यसको विरोध गर्नु राम्रै कुरा हो।

    तर शैली र तरिका माथि पनि विचार पुर्याउन आवश्यक हुन्छ। प्रमाण पेस गरेर त्यस्ता भ्रष्टाचारीहरुलाई कानुनी दायरामा त ल्याउनै पर्छ। कानुनी राज्यमा कानुनको पालना सबैले गर्नुपर्छ/ मान्नुपर्छ।

    कुन्दन झा – युवा नेता ( नेकपा एमाले )

    हाम्रो देशको परिस्थितीमा हेर्ने हो भने पब्लिक सर्भिस डेलेभरी एकदमै विक छ। यसमा आम जनताले विभिन्न सरोकारवाला निकायहरुको कार्यलयमा जाँदा पिडा भोगिरहेको अवस्था हामी सबै जानेकै छौँ।
    ओभर अल सिनारियो हेर्दा यस्तो समस्या जताततै छ तर प्रदेश २ को अवस्था झनै जरजर छ। किनभने यहाँको स्थानीय सरकार र प्रदेश सरकारमा मधेशवादी दल हावि छन्। त्यसहुनाले उनीहरु आफूलाई मधेशमुखी भनेपनि व्यवहारमा भ्रष्टाचार गर्नु बाहेक केही गर्नसकेका छैन्न।

    कानुनी राज्यको अवधारणा बुझेका राष्ट्रमा यस्तो हुनु पक्कै पनि गलत हो। हिजोको घटना एक किसिमले हेर्ने हो भने जुन राष्ट्रले न्याय र कानुनलाई मान्ने गरेको छ त्यस राष्ट्रमा यस्तो घटना हुनुहुँदैन।

    तर आम जनताले कुन तहसम्म कर्मचारीहरुको लापरवाही र बेवास्तालाइ नजरअनदाज गरिराख्ने ? एउटा पिडित मान्छे वा कुनै समुह वा समुदायको जब आफनो जिउ, ज्यान र अस्तित्वमा प्रश्न उठ्छ तब ऊ अराजक हुन जान्छ।

    तर मेरो व्यक्तिगत बुझाइमा हामीले हाम्रो समाजलाइ अराजक बन्न दिनुहुँदैन। तर यी इन्जिनियर जसलाई हिजो अर्धनग्न बनाएर नगर घुमाए तिनीहरु पनि पाठ सिक्नुपर्छ। उनीहरु पनि सचेत हुनुपर्छ।

    हामीले हाम्रो पब्लिक सर्भिस डेलेभरीलाई उतकृष्ट बनाएनौँ भने भोलिका दिनमा यस्ता घटनाहरु बढ्न सक्छ। कानुनी राज्यमा अहिले हामी त्यही इन्जिनियरको बारेमा बोलिरहेका छौँ तर हामीले कुनै न कुनै रुपमा भ्रष्टाचारीको सिन्डिकेट वा भनौँ विभिन्न कार्यलयमा जुन स्तरमा भ्रष्टचारी भइरहेको छ त्यसलाइ रोक्न सक्नौँ भने यस्ता गतिविधि दोहोरिन सक्छ।

    मेरो व्यक्तिगत विचारमा यस्ता क्रियाकलाप सकेसम्म हुनुहुँदैन्। तर जब आम जनमानसमा क्रोध बढ्दै जान्छ, सरकारप्रति जुन विश्वास छ त्यो घट्दै जान्छ अनि समाज अराजक हुनजान्छ। यो अराजक समाजको एउटा उद्धारण मात्र हो । हाम्रो समाज कतै अराजक तर्फ त अगाडी बढिरहेको छै‍न् ?

    तर मैले हेर्दा यसलाई नकारात्मक पनि भन्न मिल्दैन र द्वन्द पनि भन्न मिल्दैन। यदी समाजमा सकारात्मक परिवर्तन ल्याउन द्वन्द पनि हुन्छ भने त्यसलाइ नकारात्मक तरिकाले लिनुहुँदैन।

    यस्ता कर्मचारीहरुलाई कानुनी दायरामा नल्याउने हो भने भोलि जनताले कारवाही गर्छ र हाम्रो समाज कमजोर देखिन्छ। र यदि हाम्रो समाज कमजोर देखियो भने राज्य पनि कमजोर देखिन्छ।

    यस्तो क्रियाकलाप नदोहरियोस भनेर राज्य जिम्मेवार हुनु आवश्यक छ। जब राज्यमा पारर्दशिता र जवाफदेहिता घट्दै जान्छ अनि भ्रष्टाचार झनै मौलाउँदै जान्छ। खास गरेर हाम्रो प्रदेश नं २ मा भ्रष्टचारी एकदमै बढी छ । यसलाई न्यूनिकरण गर्न केन्द्र सरकारको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश सरकारको आयोगहरु व्यक्तिमुखि नभएर राज्यमुखी हुन आवश्यक छ।

    कसैगरी अख्तियारको आयुक्त बनाइदियो भने पार्टिप्रति जिम्मेवार नभइ राज्यप्रति जिम्मेवार हुनु महत्वपुर्ण विषय हुन्छ।

    म यो एकदम गलत भयो पनि भन्दिन र एकदम सहि भयो पनि भन्दिन। जब मान्छेसँग अन्तिम विकल्प रहँदैन तब उ हिंसाको बाटो अपनाउँछ या अराजक गतिविधिमा आफूलाई धकाल्ने काम गर्छ। एउटा व्यक्तिले गरेको भए यो ठुलो अपराध हुन्थ्यो तर त्याहाँ एउटा समुह थियो। जिम्मेवार निकायले आफ्नो जिम्मेवारी निर्वाह नगरेपछि यो अवस्था उत्पन्न भएको हो।

    यस्तो अवस्थामा हामीले जिम्मेवार निकायलाई जिम्मेवार कसरी बनाउने, राज्यलाई कसरी बनाउने विषयतर्फ बढि केन्द्रित हुनुपर्छ जस्तो लाग्छ।

    भवेश मिश्र – नेपाल इन्जिनियर्स एसोसिएसन ( सहसचिव प्रदेश नं २ )

    हिजो जुन प्रकारको घटना भएको छ त्यो एकदमै अमानवीय छ। अहिलेसम्म हाम्रो समाजमा हाम्रो देशमा यस्तो किसिमको क्रियाकलाप भएको थिएन। अब कुनै पनि निकायले, व्यक्तिले यस्तो कसुर गर्छ भने त्यसलाइ कानुनी दायारामा रहेर उसको उपचार र समस्याको समाधान खोज्ने चलन छ। र त्यसरी नै खोज्ने हो। तर हिजो जुन अपराधिक शैलीमा छापामार शैलीमा एक जना कार्यलय प्रमुखलाइ समात्न सयकडौँको संख्यामा बाँसको भाटा बोकेर गएका थिए। यो एकदमै निन्दनीय छ । खेदजनक छ।

    यस घटनाले सिके राउत माथिको सकारात्मक धारणा भएका व्यक्तिहरुको संख्या निकै घटेको छ। अब यो नदोहोरियोस, किनभने उहाँहरुले यो कुनै घटना त्यत्तिकै गराएका होइन्न। यो नियोजित रुपमा देखियो। आज यसलाइ गर्छु, भोली उसलाइ, पर्सि त्यसलाइ गर्छु भन्दै गर्ने हो भने त अपराधिक क्रियाकलाप बढ्दै जान्छ। यसले समाजमा ठुलो विकृती निम्त्याउन सक्छ।

    अब यस्तो नहोस, नदोहोरियोस, यस्ता क्रियाकप‍लाप गर्नेहरुको मनोबल घटोस् भनेर उनीहरुलाइ कारवाही हुनुपर्छ भन्ने हिसावले हामी इन्जिनियर्स एसोसिएसन अगाडी बढेका छौँ।

    हिजोको घटना नितान्त राजनीतिक गतिविधि अन्तर्गत पर्छ। यदि भ्रष्टाचार निर्मूल नै गर्नु छ भने सिके राउतले एनजिओ खोलुन। त्यसमा एक्यबद्धता जनाएर समाजलाइ जोडेर एउटा अभियान थालुन। तर त्यो त गरेका छैन्न सिके राउतले ।

    सिके राउतको नारा नै फरक छ। “अबकी बार जनमत सरकार” यसले उनको चाहना यसरी नै जनताको भावनासँग जोडेर क्रियाकलाप गर्ने र चुनावमा भोट ल्याउने राजनैतिक स्टन्ट बाहेक अरु केही होइन्न।

    भ्रष्टाचार भएको छैन भन्दिन म। भ्रष्टाचार जताततै मौलाएको छ। हामिले नै हजारौँ व्यक्तिको नाम दिन सक्छौँ। जो प्रमाणित भएको छ। जो प्रमाणित भएर पनि घुम्दै छ। उनीहरुलाई के गर्छन सिके राउतले ? एकदमै स्वक्ष तरिकाले भ्रष्टाचार विरुद्ध लाग्ने मन छ भने एनजिओ खोलोस, किन राजनीतिक दल खोलेको ?

    सबैलाइ थाहा छ मान्छे भ्रष्टाचारले आजित छन्, पिडित छन् जनप्रतिनिधिहरुबाट वा कर्मचारीतन्त्रबाट । तर डा. राउत जनताको सेन्टिमेन्टसँग खेलिरहेका छन्। “यो छोरी कुटेर बुहारी तर्साउने भन्छन् नी” हो त्यही भएको हो। एउटा कार्यलय प्रमुखलाइ कुट्छु अनि सबै आफै डराउछन् उहाँको यो सोच अराजाक मानसिकता बाहेक केहि होइन्।

    राकेश बिक्रम साह – तरुण दल धनुषा ( उपसभापति )

    भ्रष्टाचार विरुद्धको जुनसुकै अभियान होस्, ठुलो भ्रष्टाचारी होस् वा सानो मेरो नजरमा सबै बराबर हो। त्यसमा शुन्य सहनशिलता नै आजको आवश्यक्ता हो । तर शैली अलिक भएन।

    जुन कपडा च्यातियो, नगर घुमाइयो त्यो अलि बढि भयो। कार्यलयमा गएर कालोमोसोसम्म गरेको भए ठिकै हुन्थ्यो। अलिअलि यिनीहरुले बिगारेकै हुन्। नभए भ्रष्टाचार विरुद्धको जुन उदेश्य छ, त्यो देखियो भने मलाई सहि नै लाग्यो।

    मान्छे आजित भइसकेका छन् भ्रष्टाचारीहरुबाट, देश नै आजित भएका छन्। सबै उस्तै हो। सबै कुनै न कुनै फिल्डबाट पेसाबाट भ्रष्टाचारमा जुडेकै छन्। अब आज एउटा इन्जिनियरले भ्रष्टाचार गर्यो, भोलि सबै इन्जिनियरहरुले बोल्ला, भोलि कुनै डाक्टारले भ्रष्टाचार गरेपछि सबै डाक्टारहरुले बोल्लान, भोलि कुनै प्रहरीले गरेपछि सबै प्रहरी बोल्लान त्यस्तो त कहाँ सकिन्छ भ्रष्टाचार निर्मूल पार्न। हो, तर यो जुन हिलो छ्याप्यो, कपडा च्यात्यो त्यो मलाई मन परेन्।

    अब हामी भ्रष्टाचारीलाई किरा परोस भन्छौँ त्यो के भन्नका लागि मात्र थियो ? यहाँ सबभन्दा ठुलो कुरा के छ भने यस्तोमा जति भ्रष्टाचारीहरु छ यिनीहरुमा डर पसेर यिनीहरु एक भइजान्छ यस्तो कुराहरुमा। मुख्य कुरा केहो भने यस्तो काममा कुनै पुर्वाग्रह हुनुभएन, भेदभाव हुनुभएन। नभए अहिलेको समयमा जनकारवाही आवश्यक छ। अलिक तरिकाले होस्। उट्पट्याङ र उच्छृङ्खल नहोस। तर हुनु स्वभाविक नै हो।

    जनताले दबाब बनाउन आवश्यक छ। जब सरोकारवाला निकायले केही गर्दैन भने के गर्छ जनताले जनकारवाहीको विकल्प बाहेक ?


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend