भारतीय सहयोगमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुन:स्थापना कार्य सुरु

काठमाडौं : भारत सरकारको सहयोगमा काठमाडौंमा सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्थापनाको काम सुरु भएको छ ।

मन्दिर संरक्षण र पुनस्र्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो ।

साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको पाँच अर्व ८० करोड रुपैयाँ आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदा मध्ये यो पहिलो परियोजना हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सेतो मच्छिन्द्रनाथ मन्दिरको पुन स्थापनाका लागि आज संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा सरकारका विभिन्न सरोकारवाला निकायका अधिकारीहरु सहभागि थिए । साथै भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

भारत सरकारले निर्माण गर्ने सबै २८ साँस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । सन् २०१७ अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनर्स्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन ले निकायहरुको पहिचान गरिरहेको छ । केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो ।

२०७२ सालको भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्स्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापना हुनेछ ।

यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिने भारतीय दूतावासले जनाएको छ ।

मन्दिरको साज सज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पु¥याइने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाइ दुवै हिन्दू र बौद्ध धर्मावलम्बीहरुले आस्थाका साथ पूजा गर्छन् ।

नेपालका जीवित साँस्कृतिक सम्पदाहरुको परम्परागत गौरव गाथालाई संरक्षण गर्न यी क्षेत्रहरुको संरक्षण एवम् पुनर्निर्माणमा नेपाल सरकारसँग आवद्ध हुन पाएकोमा भारत सरकार खुसी रहेको दूतावासले जनाएको छ ।

No description available.

प्रतिक्रिया

TOP