कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार, नर्भिक पुगेर प्रकाशमानले बुझे स्वास्थ्य अवस्था

काठमाडौं : मस्तिष्कघात भएर नर्भिक अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

नेता जोशीलाई आइसियूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मस्तिष्कको अतिसंवेदनशील भागमा रगत जमेकाले नेता जोशीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको चिकित्सकले बताएका थिए ।

शुक्रबार नै गरिएको मस्तिष्कको सानो शल्यक्रिया सफल भएपछि जोशीको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको हो ।

शनिबार बिहान कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह नर्भिक अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

नेता सिंहका स्वकीय सचिव यूपी लामिछानेका अनुसार चिकित्सकले जोशीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी दिए ।

‘यसरी क्रमिक रुपमा उहाँको स्वास्थ्यमा सुधार आउने हामीले विश्वास लिएका छौं,’ उपचारमा संलग्न चिकित्सकको भनाई उद्धृत गर्दै लामिछानेले जानकारी दिए ।

बिहीबार राति अकस्मात् शरीरको देब्रेपट्टि समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको छ ।

प्रतिक्रिया

TOP