सोमबार, कार्तिक १ २०७८

इन्टरनेट: फेसबुक जस्ता सेवाहरू किन बारम्बार अवरुद्ध हुन्छन्?

इन्टरनेट: फेसबुक जस्ता सेवाहरू किन बारम्बार अवरुद्ध हुन्छन्?


Nepal Manch
असोज २७ २०७८, बुधबार

एजेन्सी । फेसबुकका संस्थापक र प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले गत साता फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम अवरुद्ध भएको करिब छ घण्टा पछि लेखे: “आजको अवरोधको लागि माफ गर्नुहोस्।”

थाहा छैन जुकरबर्गले उनको फेसबुक पोस्टमा आएका सम्पूर्ण प्रतिक्रिया पढ्छन् या पढ्दैनन्। यदि उनले माफी मागेको पोस्टमा आएका सबै प्रतिक्रिया पढे भने त्यसका लागि उनले ननिदाई १४५ दिन बिताउनु पर्नेछ।

अवरोधकमा लागि फेसबुकले नियमित मर्मतसम्भारको कामलाई अवरोधको कारण ठहरायो। इन्जिनियरहरूले जारी गरेको एक आदेशले गर्दा फेसबुक डेटा केन्द्रहरू अप्रत्याशित रूपमा इन्टरनेटबाट विच्छेद भए।

उक्त घटनापछि जुकरबर्गले माफी मागेको पोस्टमा ८,२७,००० ले प्रतिक्रिया जनाएका थिए।

कसैले नामिबियाबाट लेखेको थियो: “यो घटना त भयानक थियो। मलाई मेरो परिवारसँग कुरा गर्नु थियो।”

त्यस्तै इटालीका एक प्रयोगकर्ताले लेखे: “मैले त आफ्नो मोबाइल बिग्रियो भन्ने ठानेर मर्मत केन्द्र पुर्‍याएँ।”

“एउटै समयमा सबै सेवा ठप्प गर्न हुँदैन थियो। त्यसको असर अकल्पनीय छ,” एक नाइजेरियाली व्यापारीले निराशा र क्रोध व्यक्त गरेका छन्।

भारतका एक जनाले त अवरोधका कारण आफ्नो व्यवसायमा परेको असरको क्षतिपूर्ति नै मागेका छन्।

के स्पष्ट देखियो भने फेसबुकका यी सेवाहरूमा अर्बौँ मानिस निर्भर भएका छन्।

यी सामाजिक सञ्जालहरू मनोरञ्जनका लागि मात्र नभई सञ्चार र व्यापारका लागि समेत प्रयोग भएका छन्।

त्यस्तै यो एक पटकको मात्र समस्या नहुने पनि प्रस्ट भएको छ। विज्ञहरूले यस्तो समस्या बारम्बार हुने र अधिक समयका लागि हुने चेतावनी दिएका छन्।

डाउन डिटेक्टरका प्रमुख प्राविधिक अधिकारी ल्यूक डेरिक्स भन्छन्, “पछिल्लो केही वर्षहरूमा इन्टरनेट सामग्रीको वितरणका लागि सीमित सङ्ख्याका सञ्जाल र कम्पनीहरू प्रतिको निर्भरता बढेको छ।”

“जब तिनीहरूमध्ये एक वा एकभन्दा बढीमा समस्या आउँछ तब ती सेवा प्रदायकबाहेक सयौँ हजार अन्य सेवा समेत प्रभावित हुन्छन्,” उनी भन्छन्।

उदाहरणको लागि हाल फेसबुक स्मार्ट टिभीजस्ता विभिन्न उपकरणमा साइन-इन गर्नका लागि उपयोग गरिन्छ।

“र त्यसैले आजभोलि धेरै इन्टरनेट अवरुद्ध हुन्छ,” डेरिक्स भन्छन्,”सेवा ठप्प हुन्छ र हामी सबै एक अर्कालाई प्रश्न गर्छौँ – लौ, अब हामी के गर्ने?”

डेरिक्स र उनको समूह डाउन डिटेक्टरमा वेबसाइट र वेब सेवामा आउने व्यवधानको निगरानी गर्छन्। उनका अनुसार प्रमुख सेवाहरू प्रभावित गर्ने खालका व्यापक इन्टरनेट आउटेज लगातार र अत्यधिक गम्भीर हुँदै गएका छन्।

“जब फेसबुकमा कुनै समस्या देखिन्छ तब इन्टरनेटमा त प्रभाव पर्छ नै साथै अर्थतन्त्र र समाज पनि प्रभावित हुन्छ। लाखौँ या सम्भवतः हजारौँ लाख मानिस कतिखेर क्यालिफोर्निया स्थित एउटा सानो समूहले सबै कुरा ठिक पार्छन् भन्ने पर्खेर बस्छन्। रोचक त के भने केही वर्षयता यस्ता घटना बढेको छ।“

  • इन्टरनेटका सेवामा समस्या आएका महत्त्वपूर्ण घटनाहरू
    अक्टोबर २०२१: फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब छ घण्टाका लागि अवरुद्ध भए। ट्विटरलगायत अन्य साइटहरू पनि अत्यधिक चापका कारण प्रभावित भए
  • जुलाई २०२१: एअरबीएनबीलगायत ४८ भन्दा बढी सेवा प्रदायक एक घण्टासम्म अवरुद्ध भए। अकामाइको डोमेन नेम सिस्टम डिएनएसमा एउटा समस्या देखिएपछि समस्या आएको थियो
  • जुन २०२१: अमेजन, रेडडीट, ट्वीच, गीटहब, स्पोटिफाइ र अन्य समाचारका साइटहरू करिब आधा घण्टाको लागि अवरुद्ध भए। एक प्रयोगकर्ताले क्लाउड कम्प्युटिङ सेवा प्रदायक फास्ट्ली प्रयोग गर्दा त्यसअघि कहिल्यै नदेखिएको प्राविधिक समस्याले सेवाहरू अवरुद्ध पारेको बताए
  • डिसेम्बर २०२०: जिमेल, युट्युब र गुगलका अन्य सेवाहरू एकपछि अर्को गर्दै करिब ९० मिनेटका लागि अवरुद्ध भए। कम्पनीले बताए अनुसार ‘आन्तरिक भण्डारण कोटा समस्या’को कारण उक्त घटना घटेको थियो
  • नोभेम्बर २०२०: अमेरिकास्थित अमेजन वेब सेवा केन्द्रमा देखिएको प्राविधिक समस्याका कारण हजारौँ अनलाइन सेवाहरू घण्टौँ अवरुद्ध भए। यसको प्रभाव उत्तर अमेरिकामा धेरै देखियो
  • मार्च २०१९: फेसबुक, इन्स्टाग्रम र ह्वाट्सएप सबै सेवाहरू बन्द भए वा करिब १४ घण्टाका लागि अवरुद्ध भए।

स्वाभाविक रूपमा सेवा अवरुद्ध भएको कुनै क्षण मानिसहरू साइबर हमलाका कारण यस्तो भएको हो कि भनेर चिन्तित हुन्छन्।

तर विज्ञहरूले सुझाए अनुसार धेरै जस्तो अवस्थामा सामान्य मानवीय त्रुटिका कारण यस्तो घटना घट्छ र असर विस्तारित देखिन्छ।

उनीहरू थप्छन्, ”इन्टरनेटलाई जटिल, पुराना उपकरणहरूले जोडेको हुन्छ जसका कारण सानो गल्ती पनि ठूलो आकारको भइदिन्छ।“

फेसबुकको सेवा अवरुद्ध भएको समयमा विज्ञहरूले सामाजिक सञ्जाल ट्विटरमा मजाक गरे: ‘सेवा अवरुद्ध हुनुको कारण ‘स्पाइस गर्ल नामक साङ्गीतिक समूहभन्दा पनि पुरानो उपकरणहरू’ र ‘न्याप्किनको पछाडि बनाइएका उपकरणको डिजाइन’ हुन्।’

इन्टरनेट वैज्ञानिक प्राध्यापक बिल बुखानानले उक्त तुलनासँग सहमति जनाउँदै भने, ”इन्टरनेट डार्पा नामक रक्षा संस्थाले डिजाइन गरेको विस्तारित नेटवर्क हो। इन्टरनेटको असली योजनाकारहरूले त्यस्तो नेटवर्क बनाउन चाहेका थिए जसले परमाणु आक्रमण वा त्यसको कुनै भाग थेग्न सकोस्।”

“इन्टरनेटमा प्रयोग हुने अवधारणाहरू मेनफ्रेम भनिने पुरानो कम्प्युटरको सुस्त टर्मिनलमा प्रयोग हुन्थे। भित्री पूर्वाधारमा कुनै एउटा मात्र समस्या देखिए पनि पूरै संरचना ध्वस्त हुन सक्थ्यो।”

प्राध्यापक बुखानान इन्टरनेटलाई केही सुधारहरू गरेर थप लचिलो बनाउन सकिने बताउँछन्। तर इन्टरनेटका कैयौँ आधारभूत कुराहरू नै सुधार नहुने खालका भएको उनको तर्क छ।

“सामान्यतया प्रणालीहरू चालु अवस्थामा हुन्छन् र एक दिनका लागि इन्टरनेट बन्द गरेर त्यसलाई सुरुबाट बनाउन मिल्दैन,” उनले भने।

प्रणालीहरू र इन्टरनेटको संरचना फेरि बनाउनुको साटो प्राध्यापक बुखानान सुझाउँछन्: “हामीले डेटा भण्डारण गर्ने र साझा गर्ने तरिकामा सुधार ल्याउन जरुरी छ। अन्यथा भविष्यमा सेवा आम अवरुद्ध हुने जोखिम पटक पटक सामना गर्नुपर्छ।”

उनी तर्क गर्छन्, “इन्टरनेट निकै नै केन्द्रीकृत भयो। जहाँ एउटा स्रोतबाट ठुलो परिमाणमा डेटाहरू आउँछन्। यो प्रवृत्ति उल्टिनु जरुरी छ। जहाँ प्रणालीहरूसँग विभिन्न हाँगाहरू जोडिएका हुन्छन् ताकी कुनै एकमा समस्या देखिँदा सम्पूर्ण सेवा अवरुद्ध हुँदैन।”

यहाँ आशाजनक अवस्था पनि छ।

धेरै जसो इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रयोगकर्ताको जीवन र व्यापार प्रभावित हुन्छन्। तर सेवा अवरुद्ध हुँदा इन्टरनेट र वेब सेवाहरू समस्या पहिचान गरेर थप लचिलो बनाउन मद्दत पुर्‍याउँछ।

उदाहरणका लागि फोर्ब्सले आकलन गरे अनुसार फेसबुकले छ घण्टा सेवा अवरुद्ध हुँदा साढे छ लाख अमेरिकी डलर बराबर क्षति व्यहोर्नु पर्‍यो।

यति रकम विज्ञापनदाताहरूले छोड्नुका कारण अथवा निलम्बन गर्नुका कारण देखिएको हो। यस्तो किसिमको क्षति दोहोरिन नदिन फेसबुकले धेरै नै मिहेनत गर्नेछ। बीबीसी नेपालीबाट


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट