प्रचण्डलाई बामदेवको प्रस्ताव : नेकपाबाटै प्रधानमन्त्री चयन गरौं, पार्टी एकताका लागि पहल गर्नूस्

काठमाडौं : नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकता बचाउने गरी पहल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक राजीनामा दिने अवस्था बनाउन पनि प्रचण्डलाई आग्रह गरे ।

आज बिहान प्रचण्डनिवास पुगेका उपाध्यक्ष गौतमले ओलीलाई सम्मानजनक रुपमा राजीनामा गर्न लगाएर नेकपाबाटै प्रधानमन्त्री चयन गर्न सुझाव दिए ।

सर्वाेच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई उल्टाइदिएपछि नयाँ सत्तासमिकरणका लागि छलफल सुरु भइसकेको छ ।

नेकपाको प्रचण्ड-नेपाल समूहले सत्ता सहकार्यका लागि नेपाली कांग्रेस र समाजवादी पार्टीका नेताहरुसँग भेटघाट गरिसकेका छन् ।

प्रचण्ड-नेपाल समूहले देउवालाई भेटेर प्रधानमन्त्री बन्नसमेत प्रस्ताव गरेको कांग्रेसका एक नेताले बताए।

नेकपा उपाध्यक्ष गौतम भने पार्टी विभाजन नगरी नेकपाबाटै प्रधानमन्त्री चयन गर्न प्रचण्डलाई सुझाव दिन बिहानै खुमलटार पुगेका हुन्।

तर प्रचण्डले भने कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।

प्रतिक्रिया

TOP