मंगलबार, कार्तिक २ २०७८

मोतिपुर झडप : प्रहरीको गोली लागेर चार जनाको मृत्यु, एक दर्जन बढि घाइते

मोतिपुर झडप : प्रहरीको गोली लागेर चार जनाको मृत्यु, एक दर्जन बढि घाइते


Nepal Manch
असोज २४ २०७८, आइतबार

रुपन्देही । रुपन्देहीमा प्रहरीले चलाएको गोली लागेर थप एक जनाको मृत्यु भएको छ । आइतबार साँझसम्म मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सशस्त्र प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।

भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको जानकारी दिए ।

त्यस्तै झडपका क्रममा १४ जना घाइते भएका थिए । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ ।

गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए ।

आफूहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए ।

उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भइसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट