नेपालमा अहिलेसम्म ४ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं : नेपालमा कोभिड-१९ खोप अभियानको पहिलो प्रथमिकतामा परेका ४ लाख भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बिहान कोभिड-१९ खोप अभियानको पहिलो प्राथमिकताको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार ४ लाख २९ हजार ७ सय ५ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

यो संख्या नेपालको कुल जनसंख्याको १ दशमलब ४ प्रतिशत हो ।

पहिलो प्राथमिकता अन्तर्गत सरकारले ५ लाख ७ हजार ६०६ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो ।

सरकारले पहिलो प्रथमिकताको पहिलो चरणमा १ सय ८६ खोप केन्द्रबाट १ लाख ८५ हजार ८ सय ६५ जनालाई खोप लगाएको थियो।

त्यस्तै पहिला प्राथमिकताको पहिलो चरण थप गरिएको (काठमाडौं उपत्यकाभित्र मात्र )कुटनीतिक नियोग, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकार गरी ३ खोप केन्द्रबाट ३ हजार ४ सय ८० जनालाई खोप लगाइएको थियो ।

पहिलो प्रथमिकता अन्तर्गत दोस्रो चरणमा २ सय २२ खोप केन्द्रबाट २ लाख ४० हजार ३ सय ६० जनाले खोप लगाएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।

भारत सरकारले नेपाललाई १० लाख कोरोना खोप अनुदानमा दिएको थियो । नेपालले माघ १४ गतेदेखि कोरोना खोप लगाउन शुरु गरेको हो ।

पहिलो चरणमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारीलाई खोप दिइएको थियो भने दोस्रो चरणमा पत्रकार तथा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको थियो ।

माघ १४ देखि २४ गतेसम्म ११ दिन चलेको खोप अभियानमा १ लाख ८५ हजार ८ सय ६५ जनाले खोप लिएका थिए ।

माघ २६ देखि ३० गतेसम्म काठमाडौंमा लगाइएको खोप अभियानमा ३ हजार ४सय ८० जनाले खोप लिएका थिए ।

त्यस्तै फागुण २ देखि १० सम्म देशैभर चलाइएको खोप अभियानमा २ लाख ४० हजार ३ सय ६० जनाले खोप लिएको पाइएको छ ।

सरकारले यही फागुण २३ गतेदेखि पुन दोस्रो चरणको खोप अभियान समुदाय स्तरमा लैजाने जनाएको छ ।

यो अभियानमा ५५ वर्ष माथिका व्यक्ति, विश्वविद्यालय, विद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारी, औषधि पसल र प्रयोगशालामा कार्यरत कर्मचारीलाई पनि खोप लगाउन प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया

TOP