
काठमाडौं : नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा गर्न आग्रह गरेका छन्।
बुधबार बिहान विज्ञप्ति जारी गर्दै उनले ओलीलाई ढिला नगरी प्रधानमन्त्रीबाट राजीनामा गर्न सुझाव दिएका हुन् ।
त्यस्तै गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद बैठक आह्वान गर्न पनि आग्रह गरेका छन् ।
‘सम्माननिय राष्ट्रपति महोदयले प्रेस विज्ञप्तिबाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ,’ गौतमले भने।
उनले नेकपाका दुबै अध्यक्ष ओली र दाहाललाई तुरुन्तै सचिवालय बैठक बोलाउन आग्रह गरेका छन् ।
उनले पार्टी कार्यालय धुम्वाराहीमा सचिवालय बैठक बोलाउन आग्रह गरेका हुन् ।
सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गर्दै नेता गौतमले निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय भएको उल्लेख गरे ।
‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ,’ उनले भने, ‘आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो।’
प्रतिक्रिया