मंगलबार, कार्तिक २ २०७८

बाग्मती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने

बाग्मती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने


Nepal Manch
असोज २२ २०७८, शुक्रबार

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बाग्मती प्रदेशले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रूपमा विगत दुई वर्षदेखि आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुसदेखि माघसम्म संचालन हुने भएको छ ।

१५ असोजमा प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेका निर्णयहरू आज एक समारोहबीच सार्वजनिक गर्दै यसबारे जानकारी दिइएको हो ।

यसका लागि प्रदेश खेलकुद विकास परिषद्को विनियोजित दुई करोड र थप चार करोड ५४ लाख रुपैयाँ प्रदेश सरकारसँग माग गरी जम्मा छ करोड ५४ लाख रुपैयाँको कुल लागत अनुमान स्वीकृत गरिएको छ । स्थानीय, जिल्ला र प्रदेश गरी तीन चरणमा हुने उक्त प्रतियोगितामा प्रदेशका प्राथमिकताप्राप्त खेलहरू फुटबल, भलिबल, क्रिकेट, एथ्लेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समावेश हुनेछन् ।

उक्त प्रतियोगिताका लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरी जिल्ला प्रतियोगिताका लागि सहभागी पठाउनुपर्नेछ भने प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताका लागि आठ लाख रुपैयाँका दरले अनुदान प्राप्त गर्नेछन् । जिल्ला टिममा व्यक्तिगत स्पर्धामा खेलिने खेलबाट विजेता खेलाडीलाई खेलाइनेछ भने समूह खेलमा विजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडीमध्येबाट जिल्ला टिम तयार गरी प्रदेशमा सहभागी गराइनेछ ।

आगामी फागुनदेखि हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी प्रदेशले आफ्नो टिम तयारीका लागि पनि नवौँ राष्ट्रिय खेलकुदभन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको हो ।.

प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् भने क्रिकेटमा चाहिँ पुरुष टिमले मात्र सहभागिता जनाउनेछन् ।

करिब एक महिनासम्म चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरी आयोजना गरिने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।

पर्यटकीय सिजनमा साहसिक तथा पर्यटकीय खेलकुद हुने प्रदेश खेलकुद विकास परिषद्ले नेपालको पर्यटकीय सिजन कात्तिक र मंसिरको दोस्रो सातासम्ममा तीनवटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी १३ कात्तिकमा विश्वमै पहिलो पटक दोलखाको चरिकोटमा हाई अल्टिच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँचपोखरीमा अल्ट्रा म्याराथन र १० मंसिरमा रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ ।

परिषद्ले यसै वर्ष प्रदेश फुटबल लिग आयोजना गर्न र शहीद स्मारक ए डिभिजन लिगमा लागत साझेदारी गर्न एक करोड रपैयाँको सम्झौता गरिसकेको छ ।

परिषद् बैठकले यस वर्षमा हुने अन्य कार्यक्रमहरूमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने, खेलाडी तथा खेल क्षेत्रमा योगदान दिएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने, अपांगता भएका खेलाडीहरूका लागि प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने, जिल्ला खेलकुद विकास समितिहरूलाई छ लाख रुपैयाँका दरले कार्यालय संचालन खर्च र खेल सामग्रीहरू खरिद गर्नका लागि भुक्तानी दिनेजस्ता केही महत्त्वपूर्ण निर्णय गरेको सदस्य सचिव भण्डारीले बताए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट