
काठमाडौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफ्नो पूरा विश्वास रहेको बताएका छन् ।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई सकिएर फैसला आउने अन्तिम चरणमा पुगेका बेला प्रचण्डले अदालतले सही फैसला गर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुक र संविधानलाई विघटन र बिसर्जन गर्ने बाटोमा लगेको आरोप लगाए ।
‘अदालतले मुलुकलाई फेरी सही ट्याकमा ल्याउँछ,’ तिलकराज भण्डारीले सम्पादन गरेको जनयुद्धको हस्ताक्षर पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले भने ।
प्रचण्डले आफूहरु प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण युद्धमा रहेको उल्लेख गरे ।
उनले भने, ‘यो शान्तिपूर्ण युद्ध हामीले जित्नुपर्छ । जनआन्दोलन र जनयुद्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेको युद्ध जित्नुपर्छ ।’
उनले ओलीले पार्टी विभाजन गर्न निरन्तर षड्यन्त्र गरेको आरोप लगाए ।
‘ओली फुट, विघटन र विसर्जनमा लगेका छन् । पार्टीमा फुट, संविधान, देश र लोकतन्त्र विघटन र विसर्जन गर्न खोज्नुभयो,’ उनले भने ।
प्रतिक्रिया